spot_img

जलजलाका ३० मध्ये २९ योजना सम्झौता

पर्वत, माघ १२–अन्य स्थानीय तहमा योजना सम्झौतामा निकै ढिलाई भइरहेका बेला जलजला गाउँपालिकाले भने गाउँसभाबाट पारित अधिकांश योजना सम्झौता गरेको छ । जलजला गाउँपालिकाले ३० वटा योजनामध्ये सडक, सिंचाई, पूर्वाधारलगायतका २९ वटा योजना सम्झौता गरेको हो ।
उपभोक्तासमितिमार्फत काम गर्नेगरी योजनालाई समयमै सम्झौता अभियान चलाएको गाउँपालिकाले जनाएको छ । माघ १५ भित्रै योजना सम्झौता गरिसक्नेगरी लागेको गाउँपालिकाको एउटा मात्रै योजना सम्झौता हुन बाँकी रहेको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए ।
‘जलजला गाउँपालिकाले ३० मध्ये २९ वटा योजना सम्झौता गरिसकेको छ’ उनले भने । गाउँपालिकाले यी ३० वटा योजनामा झण्डै चार करोड रुपैयाँ बिनियोजन गरेको छ । गाउँपालिकाले गाउँपालिकामार्फत ठुला योजना र वडागत योजनाका लागि एकमुष्ठ वटामा बजेट बिनियोजन गरेको थियो ।
गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकामार्फत बजेट बिनियोजन भएका ठुला योजनालाई हिउँदमै काम सक्नेगरी सम्झौतामा कडाई गरेको बताए ।  ‘समय अभावले काम नहुने र गुणस्तरहिन हुने अवस्था अन्त्य गर्न पनि सम्झौता नै समयमै गर्न लगाइएको हो’ मल्लले भने ।
जलजला गाउँपालिकाले बिनियोजित बजेटको वडा–वडामै सम्झौता गर्ने ब्यवस्था मिलाएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीयस्तरमै सेवा दिनेगरी वडामै योजना सम्झौता गर्ने ब्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए । ‘सम्झौता गर्न केन्द्रसम्म आउनुपर्ने बाध्यता अन्त्य गरी गाउँपालिकाका बासिन्दालाई सहज बनाएका हौ’ उनले भने ।

spot_img

भर्खरै