spot_img

माघ १८ मा चार नम्बर साक्षर प्रदेश बन्दै

पर्वत, माघ १२–यही माघ १८ गते प्रदेश नम्बर ४ साक्षर प्रदेश बन्ने भएको छ । माघ १८ गते प्रदेशको अन्तिम जिल्लाका रुपमा पर्वत जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला शिक्षा कार्यालय पर्वतले १५देखि ६० बर्ष उमेर समुहका झण्डै ९७ प्रतिशत जनसंख्या साक्षर भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागेको हो ।
१५–६० बर्ष उमेर समुहका ९५ प्रतिशत जनसंख्या साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्न सकिने भएपनि पर्वत जिल्लामा ९६ दशमलब ९३ प्रतिशत जनसंख्या साक्षर भएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए । १५–६० उमेर समुहको जनसंख्यामध्ये ७८ हजार दुई सय १० जना साक्षर भएको उनले बताए ।
‘पर्वतमा १५–६० उमेर समुहका ७८ हजार दुई सय १० जना साक्षर भएका छन, अव दुई हजार चार सय ७४ जना निरक्षर छन’ जिल्ला शिक्षा अधिकारी पौडेलले भने । ३२ हजार तीन सय ३६ पुरुषमध्ये ३१ हजार पाँच सय र ४८ हजार तीन सय ४८ महिला मध्ये ४६ हजार सात सय १० जना साक्षर भएको शिक्षा कार्यालयको दाबी छ ।
मापदण्ड पुगेपछि साक्षरता जिल्ला घोषणा गर्न लागेको शिक्षा अधिकारी पौडेलले बताए । ४ नम्बर प्रदेशका पर्वत बाहेकका सबै जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । पर्वत घोषणा भएपछि ४ नम्बर प्रदेश नै साक्षर हुने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।
उनकाअनुसार हालसम्म ४१ वटा जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । ‘बिचमा अन्य जिल्ला घोषणा नभए पर्वत जिल्ला ४२ जिल्लाका रुपमा साक्षर घोषणा हुनेछ’ उनले भने । उनले साक्षर घोषणापछि निरक्षर रहेकालाई क्रमशः साक्षर बनाइने र अन्य शैक्षिक कार्यक्रमलाई जारी राखिने पनि बताए ।

spot_img

भर्खरै