पर्वत, माघ ७–पर्वतमा साहसिक वाटर क्यानोनिङ ९छांगावरोहण०सञ्चालनमा ल्याइएको छ । कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा एकीकृत सामुदायिक विकास केन्द्रले ब्यावसायिक रुपमा वाटर क्यानोनिङ सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले पर्यटक आकर्षित गराउन वाटर क्यानोनिङ सञ्चालनमा ल्याएको लागेको अभियानकर्ता स्थानीय गोलमान गुरुङले जानकारी दिए ।
परिक्षणका क्रममा क्यानोनिङ सम्भव भएपछि ब्यावसायिक सञ्चालनमा ल्याएको उनले बताए । ‘ब्यावसायिक क्यानोनिङले पर्यटन क्षेत्रमा ठुलो सम्भावना देखियो, त्यसैले सञ्चालनमा ल्याएका हौ’ उनले भने । ब्यावसायिक क्यानोनिङका लागि कम्पनी नै दर्ता गरेर दुर्लुङको महभिर खोलामा क्यानोनिङ सञ्चालनमा आएको हो ।
साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीले यहाँ रमाएर क्यानोनिङको मज्जा लिन पाउने भएका छन् । मनोरम खोला र बाह्रैमास एकै किसिमले सञ्चालन हुने उक्त खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो ।
हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको सामुदायिक विकास केन्द्रका अध्यक्ष उद्धिमबहादुर गुरुङले जानकारी दिए ।
क्यानोनिङका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भइसकेको र यसै सातादेखि नियमितरुपमा सञ्चालनमा ल्याइएको उनले बताए । सदरमुकाम कुश्माबजारबाट सात किलोमिटर दुरीमा रहेको गुरुङ बाहुल्य बस्तीमा रहेको यो खोलामा क्यानोनिङ सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ।
स्थानीय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिएको अध्यक्ष गुरुङले बताए । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने नेपाली सेनाका पूर्वकर्णेल गुरुङले बताए ।
क्यानोनिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारी भइरहेको स्थानीय राजन गुरुङले बताए । ‘जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासका लागि क्यानोनिङले महत्वपूर्ण भुमिका खेल्नेछ भन्ने अपेक्षा गरेका छौ’ गुरुङले नागरिकसँग भने । नेपालका लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ सञ्चालन हुँदै आएकोमा धौलागिरिमै पहिलोपटक दुर्लुङमा क्यानोनिङ सञ्चालनमा आएको हो ।
पर्वत हुँदै हिमालपारिको जिल्ला मुस्ताङ, म्याग्दी, राउण्ड अन्नपूर्ण तथा धौलागिरि जाने पर्यटकलाई पनि उक्त क्यानोनिङसम्म लैजान सकिने र एक दिन उक्त स्थानमा राखेर अर्को दिन गन्तव्यतर्फ पठाउने गरी तयारी भइरहेको अभियानकर्ता गोलमान गुरुङले जानकारी दिए ।
‘धौलागिरीका पर्यटकीयस्थलहरुमा हजारौ आन्तरिक तथा बाह्य पर्यटक आउछन्, कम्तीमा पनि उनीहरुलाई एक दिन क्यानोनिङमा रमाउने ब्यवस्था मिलाउने गरी काम गरेका छौ’ उनले भने । उनले बार्षिक एकहजार बढीलाई यो झरनामा क्यानोनिङ गराउन सकिने बताए ।
उनकाअनुसार क्यानोनिङ सञ्चालनका लागि टानसँग समन्वयसमेत भइरहेको छ । यस क्षेत्रमै पहिलोपटक नमूनाका रुपमा सञ्चालन गरिएको क्यानोनिङका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने, स्थानीय होमस्टे सञ्चालकको व्यवसाय प्रवद्र्धन हुने र केही मात्रामा रोजगारीसमेत सिर्जना हुने एकीकृत सामुदायिक विकास केन्द्रका उद्धिमबहादुर गुरुङले बताए ।
अहिले परीक्षणका क्रममा सहभागी आन्तरिक तथा बाह्य पर्यटक र क्यानोनिङ विज्ञहरुले समेत उक्त झरनामा प्रचुर सम्भावना रहेको र यहाँ एकपटक क्यानोनिङ गर्नेहरु सधैँ लोभिने स्थानीयवासी राजन गुरुङको दाबी छ । ‘धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा आउने जोसुकै पर्यटकसमेत नियमित क्यानोनिङ सञ्चालनपछि यहाँ आउने विश्वास लिएका छौ’ उनले भने ।
गुरुङ समुदायमा रहेको होमस्टेमा अर्गानिक खाना, दिउँसोमा क्यानोनिङलगायत उक्त क्षेत्रमा रहेका वनजंगल, जडीबुटी र वन्यजन्तुको अवलोकन लगायतका प्याकेज कार्यक्रम बनाउने तयारी गरेको संस्थाले जनाएको छ ।
एकीकृत सामुदायिक विकास केन्द्रले पर्यटन विकास र प्रबद्र्धनसँगै वातावरण विकासलाई पनि लैजाने भएको छ । ‘कतिपय ठाउँमा पर्यटनक्षेत्रको विकाससँगै वातावरणको विनास भइरहेको छ तर हामी वातावरण संरक्षणमा पनि उत्तिकै सचेत भएर लागेका छौ’ गोलमान गुरुङले भने । ब्यावसायिक क्यानोनिङका लागि दुर्लुङ क्यानोनिङ एण्ड क्याभिङ प्रालि नामक संस्था दर्ता गरिएको छ ।
कतिपय ठाउँमा बर्षे पानीलाई मात्रै उपयोग गरेर क्यानोनिङ गरिएपनि दुर्लुङमा हिउँदमा समेत झरनामा पानी झर्ने भएका कारण निकै राम्रो हुने गुरुङले बताए । संस्थाले बेलायतमा रहेको के एण्ड क्यानन् युकेसँग प्राविधिक सल्लाह लिएर काम गरेको जनाएको छ । ब्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्नका लागि स्थानीय तीन जना युवालाई तालिम दिइएको छ ।
क्यानोनिङका लागि आवश्यक पूर्वाधार तथा तयारीका लागि तत्कालै १२ लाख रुपैयाँ खर्च गरिनेछ । क्यानोनिङ सञ्चालनका लागि बेलायत र हङकङमा रहेका दुर्लुङबासीले पहल गर्दै आएका थिए । आधा दर्जनस्थानमा क्यानोनिङ गरिसकेकी सम्झना कार्कीले अन्यत्र भन्दा महभिर झरनामा क्यानोनिङ गर्दा निकै रमाइलो र आनन्दमय भएको बताइन् ।
‘मैले तीन÷चार वटा झरनामा क्यानोनिङ गरे तर यहाँ अन्यत्रभन्दा बढी रमाइलो भयो’ उनले भनिन् । यो झरनामा एक सय १० मिटर क्यानोनिङ गर्न सकिन्छ । महभिर खोलामा चार ठाउँमा क्यानोनिङ सञ्चालन गर्न सकिने संस्थाले अध्ययन गरिसकेको छ ।