पर्वत, मंसिर २९–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले आफूले १६ बर्षसम्म पर्वतमा गरेका कामको श्वेतपत्र जारी गर्ने बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि आज ठूलीपोखरीस्थित अर्जिकोटमा मतदाता तथा काँग्रेस कार्यकर्ताहरूसँग अन्तरक्रिया र छलफल गर्दै जोशीले यस्तो बताएका हुन ।
आफू चुनाव हारेपनि पर्वतका जनताको विश्वास र मनोबललाई हार्न नदिने प्रतिवद्धता व्यक्त गर्दै जोशीले भने–‘मैले पर्वतमा १६ बर्षमा धेरै काम गरेको छु तर अहिले पर्वतमा केही पनि विकास भएन भनेर बिपक्षीले नारा बनाए, मैले के के गरेँ अव श्वेतपत्रबाटै जानकारी पाउनुहुनेछ ।’ आफू १६ बर्ष पर्वतको जनप्रतिनिधि हुँदा गरेका सडक, खानेपानी, सिंचाई, बिजुली, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेका कामहरु श्वेतपत्रमा उल्लेख गर्ने बताए ।
नेता जोशीले काँग्रेसले विगतमा गरेका राम्रा कामको वारेमा प्रचार गर्न नसक्दा काँग्रेसको पक्षमा जनमत बढ्न नसकेको दावी गरे । उनले अब संगठन निर्माणमा सक्रिय हुन सबै कार्यकर्ता तथा शुभचिन्तकहरूलाई आग्रह गरेका छन् । ’पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउने र संगठन चुस्त बनाउनुस्, एउटा चुनावमा पराजय भएर काँग्रेस कमजोर भएको छैन’ नेता जोशीले भने ।
प्रत्येक गाउँमा काँग्रेसको पहलमा भएका कामको समिक्षा गर्न सबै वडा तहलाई आग्रह गर्दै नेता जोशीले पार्टी संगठनमा आफू अझै बढि सक्रिय भएर लाग्ने संकल्प गरेका छन् । उनले पर्वतको विकास र समृद्धिको नयाँ मार्गचित्र तयार गरी जनप्रतिनिधि नभएपनि उत्तिकै लाग्ने प्रतिबद्धता जनाएका छन् ।