spot_img

‘राजनीतिमा लागेर धेरैले कमाएका छन् तर मैले गुमाएको छु’

खिमप्रसाद भुसाल
म वहाकी उच्च माविमा अध्यापन गराउदै आएको थिए । २०३४ सालदेखि मैले बिद्यालय पढाउन थालेको हु । २०४६ सालअघि एउटा बिद्यालयको शिक्षक भएपनि बिद्यार्थीलाई पढाईसँगै प्रजातन्त्रको पक्षमा आकर्षण गर्ने काम गरिन्थ्यो । त्यो बेला हाम्रो उत्प्रेरणाले मुलुकमा प्रजातन्त्र चाहिने रहेछ भनेर बिद्यार्थीहरु त्यतिबेलाको पञ्चायतबिरुद्ध उत्साहित भएर लाग्ने गर्थे । हामी शिक्षक भएपनि मुलुकमा परिवर्तन ल्याउनका लागि शिक्षक र बिद्यार्थीको महत्वपूर्ण भूमिका रहन्छ भन्नेमा म विश्वस्त थिए ।
मुलुकभरमा भएका यस्तै प्रयास र पहलबाट नै २०४६ सालमा पञ्चायत ढल्यो । प्रजातन्त्र घोषणा भयो । बहुदलीय ब्यवस्था आयो । मुलुकमा बहुदलीय प्रजातन्त्र आइसकेपछि अब मुलुक आर्थिक विकास तर्फ ढल्केला भन्ने विश्वास थियो । तर २०५२ सालबाट तत्कालिन नेकपा माओबादीले विभिन्न अजेण्डा अगाडी सारेर सशस्त्र युद्धको घोषणा ग¥यो । तत्कालिन नेकपा माओबादीले सञ्चालन गरेको सशस्त्र बिद्रोहले धेरैले घरपरिवार छाड्न बाध्य भए । १७ हजार बढी मानिसको मृत्यु हुन पुग्यो । कैयौ मानिस अपाङ्ग र घाइते भए । परिवर्तनको नाम दिएपनि अधिकांश नेपाली कुनै न कुनै रुपमा त्यो बिद्रोहको चपेटामा परे । म पनि त्यही बिद्रोहबाट प्रभावित भए । बिद्यालयमा पढाउने एक शिक्षक भएपनि म बिद्यालयबाहेकको समयमा राजनीतिक काम पनि गर्ने गर्थे । तर, त्यतिबेलासम्म बिद्यालय पढाउने भएकाले सक्रिय राजनीति नै भन्न त मिल्दैन्थ्यो ।
एकाएक मेरो गाउँमात्रै होइन, मुलुकभरबाट नै धेरै ब्यक्तिहरु घर छाड्नुपर्ने परिस्थिति बन्यो । मुख्यगरी उनीहरुले अन्य प्रमुख पार्टीका नेता तथा कार्यकर्तालाई आँखी बनाए । गाउँमा विभिन्न किसिमका दबाब र धम्की आउन थाले । गाउँमा बस्न नसक्ने अवस्था भएपछि २०५६ सालमा मैले घर छाडेर सदरमुकाम कुश्मा आए । माओबादी सशस्त्र द्धन्द्ध झन बढेपछि डेरा खोजेर नै बसे । शिक्षक पेशा छाडेर आएपछि म सक्रिय राजनीतिमा लाग्ने सोच बनाए । हुन त म २०५३ सालमै नेपाली काँग्रेसको महासमिति सदस्य बनेको थिए । तर कार्यकारी पदमा थिइन् । मेरो मुख्य पेशा नै शिक्षण थियो । कुश्मा आइसकेपछि पार्टीको सचिवको जिम्मेबारी लिए ।
एकातिर तत्कालिन नेकपा माओबादीको सशस्त्र चुलिदै थियो । दैनिक मानिसहरु मृत्युको शिकार भइरहेका थिए । माओबादी र सुरक्षा निकायले समेत पाएसम्म बाँकी नराख्ने स्थिति थियो । त्यही समयमा राजदरबार घटना भयो । तत्कालिन राजा बिरेन्द्को वंश नाश भएपछि ज्ञानेन्द्र शाह राजा भए । तर, उनले दलहरुबिरुद्ध जान थाले । माघ १९ को घटनापछि नेपाली काँग्रेसकै अगुवाईमा मुलुकभर आन्दोलन सुरु भयो । मैले पर्वतको कुश्मामा अग्रमोर्चामा बसेर आन्दोलन गरे । दुःखको कुरा पर्वतले त्यही आन्दोलनमा एक होनहार ब्यापारी गोबिन्दनाथ शर्मालाई गुमाउन पुग्यो । म पनि त्यतिबेलाको सुरक्षाकर्मीको कुटाईबाट घाइते भए । २०६३ को जनआन्दोलन सफल पार्नका लागि पर्वतको महत्वपूर्ण भूमिका रहेको छ । यसअवधिमा निकै चुनौति र कठिनकाललाई भोग्ने अवसर पनि पाइयो । निरन्तर पार्टीको १५ बर्षसम्म पार्टीसचिवपछि अहिले १३ औ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भए ।
मैले बिद्यालय पढाउने क्रममा पनि सधै बिद्यार्थीको शैक्षिक गुणस्तरमा नै ध्यान दिन्थे । अहिले राजनीतिमा आएदेखि पनि जनताकै समस्या र आवश्यकतालाई नै केन्द्रमा राखेर अगाडी बढिरहेको छु । पार्टीको जिल्ला नेतृत्वमा भएपनि मुलुक र जनताकै स्वार्थमा रुमलिएको छु । राजनीतिमा हुदासम्म इमान्दारितालाई जोड दिनुपर्छ भन्ने मेरो मान्यता हो । तर, पछिल्लो समय राजनीतिमा इमान्दारिता पटक्कै पाइदैन । जुनसुकै पार्टीमा पनि त्यस्तैले बढी अवसर पाउने रहेछन् । राजनीतिलाई स्वच्छ र मर्यादित बनाउन जरुरी छ । राजनीतिमा लागेका इमान्दार ब्यक्तिकै भुमिकाले पनि राजनीतिलाई स्वच्छ र मर्यादित बनाउन सकिन्छ भन्ने मेरो मान्यता हो । राजनीतिमा अवसर हेर्नु स्वभाविक हो तर विचार, सिद्धान्तलाई मारेर होइन । विचार र सिद्धान्तबिहिनहरु अवसरलाई मात्रै केन्द्रमा राखेर राजनीतिमा आएकै कारण आज राजनीति वातावरण धुलिन हुन पुगेको हो । म राजनीतिमा रहदासम्म राजनीतिलाई मर्यादित र स्वच्छ बनाउन लाग्छु ।
०३२ सालमा पृथ्बीनारायण क्याम्पस पोखरामा पढ्दा नेबिसंघको सदस्यता लिएको थिए । त्यतिबेला प्रजातन्त्र ल्याउनका लागि संघर्ष गर्ने कुरा युवा अवस्थाको जोशजागरले पनि उत्साह ल्याउने काम गरेको थियो । ०३६ सालमा जनमतसंग्रहको घोषणा भयो । बहुदलको पक्षमा घोडा घोटेर लागियो । त्यही क्रममा बहुदलमा सक्रिय भएको आरोपमा मलाई राजद्रोहको मुद्दा पनि लगाइयो । केही समय त्यतिबेलाको प्रशासनले थुन्यो । पछि तारेखमा रिहा भए । ०३२ सालमा नेविसंघको सदस्य लिएदेखि अहिले पार्टीको जिल्ला सभापतिसम्म आइपुगेको छु । म शिक्षण पेशापछि सक्रिय राजनीतिमा लाग्ने इच्छा भएपनि २०५६ सालमै जाने सोच बनाएको थिइन् । तर, द्धन्द्धले सक्रिय राजनीतिमा ल्यायो । पार्टीमा गाउँको विकासको जनताका आवश्यकता लिएर आउँछन् । सरकारी तथा गैरसरकारी निकायमा पुगेर उनीहरुका मागहरु पुरा गर्न पाउदा खुशी पनि लाग्छ ।
मेरो नेतृत्वमा पार्टी रहेको समयमा अहिले पर्वतका सात वटा स्थानीय तहमा तीन वटा मात्रै जित्न सक्यौ । त्यसमा दोषजति सभापतिमा आउने गरेको छ । नेतृत्व लिने ब्यक्तिले जिम्मेबारी पनि लिनुपर्छ । तर, जिते ब्यक्तिले जित्ने हारे पार्टी हार्ने परिस्थिति हुनुहुदैन । उम्मेदवारी छनौटमा केही ढिलाई हुन पुग्यो । धेरै लामो समयपछि भएको निर्वाचनकै कारण धेरै नेता त्यसमा आकांक्षी थिए । सबैलाई टिकट दिन पनि मिलेन । उम्मेदवारीपछिको छोटो समय र सबैलाई चित्त बुझाउन नसक्दा असन्तुष्टिले पनि धेरे हदसम्म काम ग¥यो पनि । निर्वाचनमा कुन बेला कता माहौल जान्छ भन्ने थाहा पनि नहुने रहेछ । त्यसमा स्थानीयदेखि राष्ट्रिय घटनाक्रमले पनि काम गर्ने रहेछ । ब्यक्ति विशेषले पनि फरक पार्ने रहेछ । यी सबै कुराले यसपटकको चुनावमा भनेअनुसार जित हासिल गर्न सकेनौ । अहिले मलाई के लाग्छ भने निर्वाचनमा जित्नका लागि विकास गर्नुपर्छ भन्ने कुरा त्यति मन पर्न छाडेको छ । पर्वत जिल्लालाई अहिले विकासको यो अवस्थामा ल्याउनका लागि काँग्रेसले ठुलो भूमिका खेलेको छ । वडा र बस्तीमा पुगेर त्यहाँका अवश्यकतालाई अधिकतम पुरा गर्नका लागि बाँकी राखेका छैनौ तर निर्वाचनले सन्तोषजनक बनाउन सकेन ।
राजनीतिमा लागेपछि कुनै लाभको पद लिएको छैन । सभापतिमा कार्यकर्ताले पु¥याए तर कुनै ब्यक्तिगत स्वार्थमा लागेको छैन । राजनीतिमा लागेर लाभ लिनुभन्दा राजनीतिमा लाग्दा आफ्नै घरघडेरी, जग्गाजमिन बिक्री गर्नुपरेको छ । कुनै लालचा नराखेर जनताको स्वार्थलाई केन्द्रमा राखेर १७÷१७ बर्षसम्म डेरा लिएर राजनीति गर्ने ब्यक्ति मै मात्रै हु जस्तो लाग्छ । पैसा कमाउनुभन्दा जनताका आवश्यकतालाई पुरा गर्नु नै ठुलो कुरा सम्झेर सक्रिय भएको छु । राजनीतिमा लागेर धेरैले कमाएका छन् तर मैले राजनीतिमा लागेर धेरै गुमाएको छु । अहिलेसम्म निस्वार्थ भएर राजनीति गरियो । अवका दिनमा पनि राजनीतिमा बिनास्वार्थ नै काम गर्छु ।
भर्खरै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सकिएको छ । तीन वटा उस्तै उस्तै पार्टीमध्ये दुई वटा मिलेपछि अहिलेको नतिजा आउनु स्वभाविक पनि हो । समानुपातिकको नतिजा हेर्दा नेपाली काँग्रेस कमजोर छैन भन्ने नै देखाउछ । काँग्रेसभन्दा एमाले केही हजार भोटले मात्रै अगाडी छ । अव नेपाली काँग्रेसलाई कुनै ब्यक्तिले भन्दा पनि सबै नेता कार्यकर्ताले उत्तिकै जिम्मेबारीबोधका साथ अगाडी बढाउनुपर्छ । अहिले कसैलाई गल्ती र दोष देखाएर आफु चोखिने बेला होइन, अब कसरी सशक्त रुपमा लैजाने भन्ने नै हो । पार्टीले धेरै जिल्लाका सभापतिलाई प्रत्यक्षमा नै उम्मेदवार बनाएको छ । मैले पनि प्रत्यक्षमा नै निर्वाचनमा लड्ने चाहना गरेको थिए । तर पार्टीले समानुपातिकमा बस्न भनेपछि स्वीकारेको हुँ । अहिले समानुपातिकको मतगणना झण्डै सकिएको छ तर प्रत्यक्षमा निर्वाचन लड्न नपाएपनि समानुपातिकबाट छनौट गरेर नेपाली काँग्रेस पर्वतको सम्मान गर्नेमा म ढुक्क छु ।

spot_img

भर्खरै