पर्वत, मंसिर ८–निर्वाचनबिरोधी गतिविधिको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँटको समाज कल्याण प्राविका शिक्षक धनञ्जय मल्ललाई प्रहरीले पक्राउ गरेको हो । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचनबिरोधी गतिविधिमा लागेको आशंकामा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलिप घिमिरेले अहिलेको चुनावबिरोधी गतिविधिमा लागेको नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामा संलग्न रहेको र आगामी निर्वाचनमा त्यस्ता गतिविधि नहोस भनी पक्राउ गरिएको जानकारी दिए ।
‘उहाँ नेकपामा संलग्न भएको र संकास्पद गतिविधि देखिएकोले चुनावलाई दृष्टिगत गरी पक्राउ गरिएको हो’ घिमिरेले भने । पक्राउ परेका मल्लमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्धा चलाएको छ । मल्ललाई पक्राउ गरिएकोमा नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल शिक्षक संगठन पर्वतले बिरोध गरेको छ । कुनैपनि अवाञ्छित गतिविधिमा नहिडेको शिक्षकलाई बिद्यालयमा पढाइरहेको अवस्थामा पक्राउ गर्नुले आफ्नो ध्यानाकृष्ट भएको संगठनका अध्यक्ष भुमिराज शर्माले बताए ।