पर्वत, मंसिर १ –यहाँ शुक्रबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा परी ३० जनाबढी घाइते भएका छन् । सतबिज छरेर घर फर्किदै गरेका यात्रु सवार बस कास्की र पर्वतको सिमानामा पर्ने कुश्मा–१४ आर्थरमा दुर्घटनामा परेको हो ।
सडकबाट एक सय ५० मिटर तल खसेको ध१ख८७ नम्बरको बस दुर्घटनामा पोखरा मालेपाटन निवासी ३२ बर्षिय दिपक गुरुङकने निधन भएको आर्थरडाडाखर्कबाट स्थानीय मनोज गुरुङले जानकारी दिए । घाइते भएका सबै बसमा सवार यात्रु कुश्मा–१४ आर्थर निवासी भएको उनले बताए । उनकाअनुसार घाइतेहरुलाई तीन वटा जीप र एक एम्बुलेन्समार्फत उपचारका लागि पोखरा पठाइएको छ ।
जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले बस दुर्घटनामा परी केही यात्रु हताहत भएको सुचना आएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पठाइएको जानकारी दिए । उद्धारमा खटिएको प्रहरीका सइ भरतप्रसाद पौडेलका अनुुसार घाईते मध्ये अधिकांशको हातखुट्टा, टाउकोमा गहिरो चोट लागेको छ ।
‘सतबिज छरेर फर्कदै गरेका आर्थर र पोखराका यात्रु चढेको बस दुर्घटनामा परेको हो’ पौडेलले भने । उनका अनुसार बस भीरबाट करिब एक सय ५० मिटर तल खसेको छ । पर्वत, स्याङजा र कास्कीको सिमानामा पर्ने पञ्चासेमा बालाचर्तुदशीको अवसरमा सतबिज छर्नेको ठुलो मेला लाग्ने गर्छ ।


