पर्वत, कार्तिक ७–खेलाडीहरु टिकाउन र नयाँ खेलाडी उत्पादन गर्न यहाँ खेलमैदान निर्माण अभियान सुरु गरिएको छ । स्थानीय युवाहरु मिलेर जिल्लाकै नमुना खेलमैदान निर्माण गर्ने अभियान चलाएका हुन । जिल्लाकै सबैभन्दा बढी खेलाडी उत्पादन हुदै आएको मोदी गाउँपालिकाका खेलाडी र स्थानीय युवाहरुले तत्काल खेलमैदान निर्माण थाल्ने गरी अभियान चलाएका हुन ।
गाउँमा भएका खेलाडीहरु खेलका गतिविधि शुन्य हुदा बिस्थापित हुने अवस्था र नयाँ खेलाडी समेत उत्पादन नभएपछि स्थानीय युवाहरुले मोदी गाउँपालिकाको डिमुवामा जिल्लाकै नमुना मैदान निर्माण गर्ने अभियान थालेको स्थानीय दिपेन्द्रजंग लामिछानेले जानकारी दिए । ‘जिल्लामै भनेजस्तो खेलमैदान छैन, त्यसैले जिल्लाकै नमुना मैदान डिमुवामा निर्माण गर्नेगरी अभियान थालेका छौ’ उनले भने ।
मोदी गाउँपालिका जिल्लामै सबैभन्दा बढी खेलाडी उत्पादन भएको गाउँपालिका पनि हो । यहाँका भलिबल खेलका खेलाडीले राष्ट्रियस्तरमै चर्चा बटुल्न सफल भएका छन् । विभिन्न खेलका खेलाडी र स्थानीय युवाहरुको प्रारम्भिक भेलाले तत्काल मैदान निर्माण सुरु गर्नेगरी सरोकारवाला निकायसँग समन्वय गर्न र खेलमैदान निर्माण गर्न लामिछानेको संयोजकत्वमा २९ सदस्यीय एक समिति गठन गरेको छ ।
‘सोमबार सबै युवा र स्थानीय खेलाडीहरुको प्रारम्भिक भेलाले एक समिति बनाएका छौ’ उनले भने–‘मैदान निर्माणका लागि आवश्यक पर्ने सहयोग र प्राविधिक सहयोगका लागि विभिन्न सरोकारवाला निकायसँग तत्काल पहल गर्ने तयारी गरेका छौ ।’ उनले राष्ट्रिय खेलकुद परिषदसम्म डिमुवामा नमुना खेलमैदान निर्माणका लागि प्रस्ताब बुझाएको बताए । ‘राष्ट्रिय खेलकुद परिषदबाट समेत सम्भावित मैदान निर्माणका लागि अवलोकन तथा छलफल गर्न टोली आउने कुरा भइरहेको छ’ लामिछानेले भने ।
उनले मोदी गाउँपालिका, राष्ट्रिय खेलकुद परिषद, स्थानीय ब्यापारी, बैदेशिक रोजगारीमा गएका युवाहरुलगायतको सहयोगमा खेलमैदान निर्माण गर्ने योजना भएको पनि बताए । मोदी गाउँपालिकामा यसअघि स्थानीय मोदी युवा क्लबले सामान्य मैदान निर्माण गरेको थियो । त्यही मैदानलाई स्तरोन्नती गरी नमुना मैदान बनाउने युवाहरुको तयारी छ । खेलमैदान निर्माणपछि नियमित रुपमा राष्ट्रियस्तरका खेलसमेत मोदी गाउँपालिकामै आयोजना गर्ने लक्ष्य त्यहाँका युवाहरुले राखेका छन् ।
भलिबल खेलाडी अरुणकुमार श्रेष्ठले आवश्यक खेलमैदान नहुँदा जिल्लाकै सबैभन्दा बढी खेलाडीहरु भएको मोदीमा पछिल्लो समय खेलाडीहरु बिस्थापित हुदै गएको बताए । ‘खेलाडी रोक्न र नयाँ खेलाडी उत्पादन गर्नपनि स्थानीयस्तरमै सुविधासम्पन्न खेलमैदानको आवश्यक भएको छ’ श्रेष्ठले भने ।
पर्वत जिल्लाभर नै एउटा पनि सुविधासम्पन्न खेलमैदान छैन । सदरमुकाम कुश्माबजारस्थित बडागाउँचौरमा रहेको खेलमैदान २०५८ सालमा सशस्त्र प्रहरी बल चण्डिका गणले लिएपछि जिल्लामै खेलमैदान अभाव भएको हो । खेलमैदान नहुँदा जिल्लामा बिरलैमात्रै खेलकुदका गतिविधि सञ्चालन हुने गरेका छन् । ‘खेलमैदानै नहुँदा र खेलगतिविधि नहुदा खेलाडी जिल्लामा पाउनै मुस्किल हुने अवस्था अन्त्य गर्न पनि मोदी गाउँपालिकाको डिमुवामा खेलमैदान निर्माण गर्न लागिएको हो’ निर्माण समितिका संयोजक लामिछानेले भने ।