काठमाडौं, भदौ ३१ –त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ। मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो। यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ। यो खबर अर्जुन अधिकारीले आजको नयाँ पत्रिकामा लेखेका छन्।
२० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो। गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए।
पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जिसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए। जिसीले उनलाई भक्तपुरका प्रकाश बस्नेतको जिम्मा लगाए। उनले मृगौला प्रत्यारोपण गरिएका शम्भुलालसँग चिनजान गराए। मृगौला झिकिनुअघिको चार महिना खत्री उनकै घरमा बसे। तर, सहमतिअनुसार तस्कर समूहले रकम नदिँदा एक वर्षपछि खत्रीले घटना बाहिर ल्याएका हुन्। सुरुमा आफुलाई मिगौला निकालिने जानकारी नै नभएको, अन्तिम समयमा थाहा पाउँदा मृगौला निकाल्न नदिए ज्यान मार्ने धम्की समेत तस्करहरुको समुहले दिएको उनको दाबी छ।
अप्रेसन गरेपछि तस्कर श्रेष्ठले नवीनलाई एक लाख २५ हजार रुपैयाँ दिएका थिए। सहमतिअनुसार पैसा नदिए मिडियामा जाने चेतावनी दिएपछि खत्रीले पुनः पाँच लाख पाएका थिए। उनी ‘पोखरामा घर बनाउने काम गर्दै आएको थिएँ। खाजा खाने क्रममा पोखराका नारायण जिसीसँग चिनजान भयो। नजिकिँदै जाँदा उनले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, गाडी र जागिर उपलब्ध गराउने भन्दै काठमाडौं लिएर आए,’ खत्रीले भने।
फर्जी नागरिकता बनाएर मिर्गौला निकालियो
रक्त समुह मिलेमा परिवारका सदस्यबीच मात्रै मिर्गौला प्रत्यारोपण गर्न पाइने कानुनी प्रावधान छ। परिवार बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएकाले दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएर अस्पतालमा पेस गरेका थिए। जसमा अस्पतालका कर्मचारीहरु धनबहादुर गुरुङ र कुमार खनालले पनि उनीहरुलाई सघाएको आशंका छ।
मिर्गौला निकालिएको विषयमा शम्भुलाल श्रेष्ठ र प्रकाश बस्नेतलाई फोन गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्। शिक्षण अस्पतालले खत्रीलाई २३ र शम्भुलाललाई २५ पु’स ०७३ मा डिस्चार्ज गरेको थियो।