spot_img

२३ वर्षदेखि लप्सीलाई ‘ब्राण्ड’ बनाउन कस्सिइरहेका थानेश्वर

पर्वत — २०५८ सालअघिसम्म फलेबास नगरपालिका–४ मुडिकुवाका थानेश्वर भुसाललाई वन पाखामा खेर गइरहेको लप्सी पनि आम्दानीको स्रोत बन्छ भन्ने अनुमानसम्म थिएन । घर छेउछाउका लप्सीका बोटमा लटरम्म लप्सी फल्थे, झर्थे र कुहिन्थे । नेपाली कांग्रेसका पूर्व सांसद ऋषिकेश तिवारीले स्थानियलाई वनमा खेर गएको लप्सी र अमला लगायतका फलहरुको संकलन र प्रशोधनमार्फत आम्दानी गर्न सकिने कुरा सुनाइरहन्थे । यही कुराबाट प्रभावित भएर थानेश्वरको ध्यान लप्सीतिर मोडियो ।

उनले उद्योग खोलेपछि लप्सी संकलन सुरु गरे । ‘वनमा खेर गएको लप्सीबाट पैसा आउँछ रे !’ भन्ने हल्ला गाउँभरि फैलियो । उनले सुनाए, ‘सुरुमा ६ रुपैयाँ केजी लप्सी खरिद गरेको थिएँ । अहिले त लप्सीको खरिद दर नै प्रतिकेजी ५० पुगेको छ ।’

लप्सीबाट अनेकन परिकार उत्पादन सुरु गरेपछि थानेश्वरले थाह पाए, यसको बजारीकरण त्यति सजिलो छैन । सुरु सुरुमा उनी बजारका चोका चोकमा, मेला महोत्सवमा र मान्छे भीड हुने ठाउँहरुमा पुगेर आफ्नो उत्पादनको मार्केटिङ गर्थे । लप्सीको स्वादमा बानी पार्न नि:शुल्क चखाउँथे । यसरी विस्तारै–विस्तारै उनले आफ्नो बजार बढाउँदै गए ।

उद्योगलाई १२ महिनै सञ्चालनमा ल्याउने हेतुले चार वर्षयता उनी सातु पनि उत्पादन गरिरहेका छन् । भने, ‘मकै, चना, गहुँ, भट्ट, फपर, जौं र बदाम मिसाएर मिक्स सातु उत्पादन गर्न थालेको, राम्रै प्रतिक्रिया मिलेको छ ।’ वार्षिक १५ क्विन्टल सातु बिक्री गरिरहेको बताउँदै उनले सुनाए, ‘अमेरिका, जापान र युरोपका देशमा बस्ने पर्वतेली दाजुभाइले बढी मन पराउनु भएको छ ।’ यसका अलवा उनी हर्रो र बर्रोको फलबाट पाचकको धुलो पनि बनाएर पनि बेचिरहेका छन् ।Thaneshwar has been trying to make lapsi a 'brand' for 23 yearsकोरोनाकालमा भोगेको नोक्सानले उनलाई अहिले पनि झस्काइरहन्छ । सुनाए, ‘कोरोनाकालमा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भयो । उत्पादित सामग्री नष्ट गर्नुपर्‍यो ।’ उद्योगको बिमा गरेपनि उत्पादित सामाग्रीको बिमा नभएका कारण उनले कतैबाट क्षतिपूर्ति पाउन सकेनन् ।

२०७२ सालमा भने उनले अर्को दुःख भोगे । उनको उद्योग भएकै ठाउँमा पहिरो गयो । मेसिन र उत्पादिन सामानहरु पहिरोसँगै बग्यो । तर यसबेला पनि उनले बिमा कम्पनीबाट केही पाएनन् । सुनाए, ‘पहिरोको केहीदिनपछि बिमा कम्पनीका प्रतिनिधिहरु आए । खै, पहिरोले सामान बगाएका फोटो ल्याउनुस् भन्ने । तर फोटो नभएकाले क्षतिपूर्ति दिन नमिल्ने सुनाए ।’

हिजोआज त उनलाई २७ वर्षीय छोरा शिशिर भुसालले पनि सघाइरहेछन् । उद्योगमा चाहिने कच्चापदार्थ ल्याउनेदेखि उत्पादित सामग्रीलाई बजारसम्म पुर्‍याउने र सामाजिक सञ्जालमा प्रचारगर्ने काम छोराले नै गर्न थालेपछि उनी खुशी देखिन्छन् । स्थानीय ३ जना महिलालाई रोजगारी दिइरहेका थानेश्वरले सिजनका बेला ६/७ जना जनशक्ति आवश्यक पर्ने बताउँदै भने, ‘कहिलेकाहीँ कामदार अभाव भएको समयमा बुहारी र श्रीमतीले सघाउँछन् ।’

सीटीईभिटीबाट कृषि उद्यममा ‘लेभल टु’ पास गरेका भुसाल आफ्नो उद्यममा मात्रै सीमित छैनन् । उनले अचार बनाउने तालिमहरु पनि दिने गर्छन् । ३ हजार भन्दा बढीलाई लप्सी, अमला र मासुको अचार बनाउने तालिम दिइसकेका थानेश्वरले किसानले तालिमबाट अचार बनाउने विधि मात्र नसिकेर मूल्य निर्धारण, बजारमा बेच्ने ठीक समय र बजारीकरणको तयारीका बारेमा सिकिरहेको बताए ।

हिजोआज थानेश्वर वार्षिक ५० टनजति लप्सीका विभिन्न खाद्य सामग्री उत्पादन गरिरहेका छन् । स्थानीय मुडिकुवा, देवीस्थान, लिमिठाना, ठानामौला, शंकरपोखरी लगायतका ठाउँका स्थानीयले उनलाई लप्सी बेच्ने गर्छन् । थानेश्वरले नेपालमा मात्र पाइने फल भएकोले भारत र चीनसँग प्रतिस्पर्धा गर्न नपर्ने हुँदा यसको अर्न्तराष्ट्रिय बजारमा समेत बलियो सम्भावना रहेको दाबी सुनाउँदै भने, ‘गुणस्तीय हाजमोला र सुधारिएको क्यान्डी बनाएर विदेश निर्यात गर्न सके विश्व बजारमा लप्सीको स्वाद मन पराउने सम्भावना छ ।’

राज्यले अनुदानको नाममा किसानलाई झमेला गराउने काम गर्दै आएको भुसालको आरोप छ । राज्यको नीतिले श्रम गर्ने किसानलाई छुन नसकेको हुँदा अनुदान दिने प्रक्रियालाई सच्याउनुपर्ने उनको तर्क छ । ‘कर्मचारी किसानका खेतबारीमै पुगेर हेर्ने र त्यहीँ कागजातको काम सकेर भुक्तानी दिने व्यवस्था हुनुपर्छ’, उनले भने, ‘अनुदानका लागि कार्यालय धाउने कि आफ्नो खेतमा । यस्तो फुर्सद किसानलाई हुँदैन ।’

spot_img

भर्खरै