
पर्वत, भदौ ३१–पैंयूँ गाउँपालिकास्थित वडा नम्बर ५ को कार्यालय चिसापानीमा स्थापना गरिएको छ । कार्यालयको शुक्रबार गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै तिवारीले वडाका बासिन्दालाई सहज सेवा प्रदान गर्नका लागि वडामै कार्यालय स्थापना गरिएको बताए ।
‘जनतालाई सहज र गाउँमै सेवा पुगोस भनेर वडामै कार्यालय स्थापना गरेका हौ’ तिवारीले भने । गाउँपालिका निर्माणको क्रममा साविकको हुवास गाविसलाई दुई वटा वडामा विभाजन गरिएको थियो । गाउँमै वडा कार्यालय स्थापना भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । यसअघि उनीहरुले साविकको हुवास गाविसको कार्यालयलाई वडा नम्बर ४ र ५ को संयुक्त कार्यालय बनाएर काम लिदै आएका थिए ।
वडा अध्यक्ष उमाकान्त भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य तिलकप्रसाद श्रेष्ठ, नेकपा एमालेका चोकलाल न्यौपाने, नेकपा माओबादी केन्द्रका युवराज सेन, इलाका प्रशासन कार्यालय पर्वतका प्रमुख गंगाबहादुर थापालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक अस्मिता भण्डारी र स्वागत मन्तब्य वडा सदस्य कृष्णप्रसाद भुर्तेलले गरेका थिए ।


