
पर्वत, भदौ ३१–जिल्लाको दक्षिण भेगमा पर्ने पैंयूँ गाउँपालिकामा आन्तरिक राजश्व कार्यालय पोखराले घुम्ती कर संकलन शिविर सञ्चालन गरेको छ । स्याङ्जा हुदै पोखरा र कुश्मा पुगेर कर तिर्दै आएका पैंयँु, बिहादी र महाशिला गाउँपालिकाका ब्यवसायी गाउँमै कर तिर्न पाएपछि खुशी भए । कर शिविरमा तीन वटै गाउँपालिकाका चार सय ५१ जना ब्यवसायी लाभान्वित भए ।
पोखरा र कुश्मा पुगेर सेवा लिदा उनीहरुले न्युनतम चार हजार रुपैयाँ खर्चनुपथ्र्यो । एक जनाको चार हजार बचत हुँदा चार सय ५१ जना ब्यवसायीको १८ लाख चार हजार रुपैयाँ जोगिएको पैंयूँ गाउँपालिकाबाट तिलकप्रसाद श्रेष्ठले जानकारी दिए । ‘पैंयूँ, बिहादी र महाशिलाका ब्यापार ब्यवसाय गर्दै आएकालाई शिविरले ठुलो राहत दिएको छ’ श्रेष्ठले भने–‘पोखरा र कुश्मा पुग्दा खर्च हुने मोटो रकम बचत भयो ।’
पैंयूँ गाउँपालिका, मर्दिखोला बजार ब्यवस्थापन समिति र पर्वत उद्योग बाणिज्य संघको पहलमा शिविर सञ्चालन तीन दिने शिविर सम्पन्न भएको हो । पुरानो कर फस्र्यौट, नयाँ दर्ता गरेका उद्योगलाई तत्काल पान बितरण गर्ने ब्यवस्था मिलाउनका लागि कर अधिकृत हिमबहादुर बस्नेत, कृष्णहरि गौतमको टोली आएको पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष शिव शर्मा पौडेलले बताए ।
तीन दिनसम्म पैंयूँका बासिन्दालाई सेवा दिएको आन्तरिक राजश्व कार्यालय पोखरा, घरेलु कार्यालय कुश्मा, पर्वत उद्योग बाणिज्य संघलगायतको टोलीलाई गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले आगामी बर्ष पनि यसरी नै सेवा पु¥याउन आग्रह गर्दै बिदाई गरेका थिए ।
पैंयूँमा कर शिविर, स्थानीय ब्यवसायीको १८ लाख बचत


