पर्वत, भदौ ३०–जलजला गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा एक करोड ७३ लाख बिनियोजन गरेको छ । कर्मचारी र जनप्रतिनिधिलाई बजेटसम्बन्धी स्पष्ट खाका समयमा प्राप्त नहुदा कृषि र पशुपालनका साथै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको रकमसमेत सडक, सिंचाई र अन्य पूर्वाधारमा राखेको गाउँपालिकाले अहिले सवारी किन्ने रकम काटेर पशु र कृषिमा बजेट हालेको हो ।
बिषयगत कार्यालयले ढिलोगरी बजेटको सिलिङ पठाएपछि अफ्ठ्यारोमा परेको जलजला गाउँपालिकाले सवारी खरिद, बिद्युतका पोल खरिदमा बिनियोजन गरेको रकम कृषि र पशुपालनमा खर्च गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाले कृषिमा एक करोड १० लाख र पशुपालनमा ६३ लाख गरि कृषि र पशुपालनमा एक करोड ७३ लाख बजेट बिनियोजन गरेको जानकारी दिए ।
यसअघि गाउँसभा हुँदा कृषि र पशु सेवा तर्फको बजेट गाउँपालिकामा गएको बारे जानकारी नभएपछि सडक, बिद्युत र सवारी साधन खरिदमा बिनियोजन भएको थियो । कृषकको माग र सरोकारवाला कार्यालयको आग्रह पछि बजेट पुनरावलोकन गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । गाउँसभाले आर्थिक बर्ष २०७४÷७५ मा पशुपालन र कृषिमा बजेट बिनियोजन गरेको थिएन ।
‘गाउँपालिकाआ आएको बजेट कुन–कुन क्षेत्रमा बिनियोजन गर्ने भन्ने कुनै खाका नै आएन, त्यसैले गाउँसभामा बजेट ल्याउदा कृषि र पशुपालनमा बजेट बिनियोजन भएकोथिएन’ मल्लले भने । उनले सवारी साधन नचढेर भएपनि कृषि र पशुपालनमा बजेट पुनरावलोकन गरिएको जानकारी दिए ।
गाउँपालिकाले यस बर्ष अध्यक्षका लागि सवारी साधन खरिदमा ६० लाख बिनियोजन गरेको थियो । ‘मैले बरु एक बर्ष आफ्नै गाडी चढ्छु, कृषकका माग सम्बोधन गर्नुपर्छ भनेर कृषि र पशुपालनमा उक्त बजेट बिनियोजन गराएको छु’ मल्ले भने । यस बाहेक प्रत्येक वडामा यस अघि बिनियोजन भएको बजेटबाट सात लाख ५० हजारका दरले बजेट काटिएको छ ।
बिद्युतका पोल खरिद र सडक स्तरोन्नती गर्ने बजेटबाट समेत घटाएर कृषिमा बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । पशुपालन र कृषिको पकेट क्षेत्र रहेको उक्त गाउँपालिकामा कृषकले बजेट बिनियोजन गर्न दबाब दिदै आएका थिए । अघिल्ला बर्षहरुमा जिल्ला कृषि बिकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयबाट बिनियोजन भएको रकमबाट तालिम, पुर्वाधार र अन्य क्षेत्रमा अनुदान पाउँदै आएका कृषकहले गाउँपालिकाबाट बजेट बिनियोजन नहुँदा मर्कामा परेको गुनासो गर्दै आएका थिए ।
गाउँसभााले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि ३६ करोड १४ लाख ९३ हजार रुपियाँ बरावरको बजेट सार्वजनिक गरेको थियो । चालु खर्चतर्फ सामाजिक सुरक्षा भत्ताको रकम र सःसर्त अनुदान १५ करोड ५७ लाख आठ हजार सहित जम्मा २३ करोड ९२ लाख ४८ हजार रुपियाँ विनियोजन गरिएको छ । यसै गरि पुँजीगततर्फ १२ करोड २२ लाख ४५ हजार रुपियाँ विनियोजन गरिएको थियो ।