पर्वत, साउन २८–पर्वत जेसीजले हरेक बर्ष गर्दै आएको जेसीज सप्ताह शनिबारदेखि सुरु भएको छ । सप्ताहको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । जोशीले मुलुकको राष्ट्रियतालाई दरिलो र गर्बिलो बनाउन तथा मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडी बढाउनका लागि युवापु्स्ताको नेतृत्व आवश्यक रहेको बताए । ‘देशलाई समृद्धिको यात्रामा अगाडी बढाउनका लागि पुरानो पुस्ताको सीप, अनुभव र युवा पुस्ताको जोश, जाँगर र आत्मविश्वासलाई प्रयोग गर्नु आवश्यक छ’ उनले भने । उनले मुलुकलाई सबै हिसाबले समृद्ध बनाउन र सुशासनयुक्त बनाउन पनि युवाहरुको अहम भुमिका रहनेमा जोड दिए । युवाहरु गलत बाटोमा हिँड्न नहुनेमा जोड दिदै उनले पर्वत जेसीजले युवालाई नेतृत्व र ब्यक्तित्व विकासमा स्थापनाकालदेखि गर्दै आएको भुमिका प्रशंसा गरे ।
कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले युवाको नेतृत्व स्थापित गर्नसकेमा देशको विकास छिटो हुनेमा जोड दिए । समाज परिर्वतनमा युवाहरुले मात्र परिर्वतन ल्याउन सक्ने दावी गर्दै उनले देश विकासका लागि युवाहरुले पहल गरे आर्थिक उपार्जनका क्षेत्रमा फड्को मार्न सकिने धारणा राखेका थिए ।
पर्वत जेसीजका अध्यक्ष प्रेम गुरुङ ‘अशोक’ को अध्यक्षतामा भएको सप्ताह उद्घाटन कार्यक्रममा पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष रविकुमार श्रेष्ठ, कार्यक्रम संयोजक मन्जु सिलाकार, मुल संयोजक सुमन श्रेष्ठ, महासचिव हिमाल केसीलगायतले बोलेका थिए ।
कार्यक्रममा तिन जनालाई सम्मान गरिएको थियो । युवा कवि तथा साहित्यकार आर. के आदित्य गिरी, चित्रकार तथा मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङलाई सम्मान गरिएको हो । तीनैजनालाई सांसद अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछानेले सम्मान गरे ।
युवापुस्ताको नेतृत्वले मुलुक समृद्धि बन्छ ः जोशी
