spot_img

दुर्लुङमा बन्यो चिहानघाट, सांसद जोशीले गरे उद्घाटन


पर्वत, साउन २८–गाउँमा निधन भएका ब्यक्तिको शव ब्यवस्थित रुपमा अन्त्यष्टि गर्नका लागि कुश्मा नगरपालिका वडा नम्बर ३  दुर्लुङस्थित कोटथरमा चिहानघाटन निर्माण गरिएको छ ।
खुल्ला ठाउँमा शवको अन्त्यष्टि गर्दै आएका ८५ भन्दा बढी दलित घरपरिवारको सक्रियतामा सत्तलसहितको चिहानघाटन निर्माण भएको हो ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत दुई लाख रुपैयाँ प्रदान गरेपछि सत्तलसहितको चिहानघाट निर्माण गरेको निर्माण समितिका अध्यक्ष मेखलाल बिकले जानकारी दिए ।
‘सांसदले दुई लाख प्रदान गर्नुभयो, हामीले ५० हजार बराबरको श्रमदान ग¥यौ, दुई लाख ५० हजारमा सत्तलसहितको चिहानघाट  निर्माण गरेका हौ’ बिकले भने । सत्तलसहितको चिहान घाट निर्माणपछि अब चर्को घाम र पानी परेको समयमा पनि शवको अन्त्येष्टि गर्न सकिने भएको उनले जानकारी दिए ।
चिहान घाटको शनिबार काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनले विकासका लागि सबैको एकता हुनुपर्नेमा जोड दिए ।
दलितहरुको हरेक दुःख र समस्यामा साथ दिदै आएको भन्दै नेता जोशीले हरेक नेपाली काँग्रेस नै दलितको पक्षमा रहेको एकमात्र पार्टी भएको बताए । आफुले सकेसम्म दलितको अधिकार र आवश्यकता लाई सधैँ ध्यान दिएर लागेको भन्दै उनले कसले बढी सहयोग गरिरहेको छ त्यो चिन्नुपर्ने धारणा राखेका थिए । उनले विकास दिएवापत भोट कहिल्यै नमागेको भन्दै आफुले विकासमा कहिल्यैपनि राजनीतिक पूर्वाग्रह नराखेको बताए । उनले विकासको काममा आफुलाई उपयोग गर्नपनि जनतालाई आग्रह गरेका थिए । निर्माण समितिका अध्यक्ष मेखलाल बिकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य कुलप्रसाद उपाध्याय, कुश्मा–३ का वडा सदस्य यमनाथ शर्मा, नेपाली काँग्रेसका सहसंयोजक डण्डपाणी शर्मा, एमालेका खड्कसिंह गुरुङलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन बालकृष्ण शर्माले गरेका थिए ।

spot_img

भर्खरै