पर्वत, साउन २७–ब्यवस्थापिका संसद सदस्य विकास लम्सालकै घर नजिक शुक्रबार जीप दुर्घटना भएको छ । फलेवास नगरपालिका वडा नम्बर ५ स्थित खानीगाउँमा लम्सालको घर नजिकै जीप दुर्घटनामा चालक घाइते भएका हुन । कुश्मादेखि बिहादी वडा नम्बर ३ रानीपानीका लागि छुटेको लु१ज ३१९५ नम्बरको जीप सडकको उकालो चढदै गर्दा पल्टीएको प्रहरीले जनाएको छ ।
सडक मर्मतका लागि नगरपालिकासँग माग गरेपनि सुनुवाई नभएपछि जोखिमपूर्ण सडकमा सवारी साधन सञ्चालन भएको स्थानीयले बताएका छन् । पर्वतका अधिकांश सडकहरु अहिले बिग्रेका छन् । जिल्ला समन्वय समिति र सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमको करोडौ रुपैयाँमध्ये अधिकांश रकम सडकमा खर्च गरिएको भनिएपनि कच्ची सडकहरु बर्षामा सवारी साधन चल्नै नसक्ने हुने गरेका छन् । सवारी सञ्चालक र यात्रुले ज्यान जोखिममै राखेर भएपनि बिग्रेकै सडकमा यातायातका साधन चलाउने गरेका छन् ।