spot_img

मल्लाज सिंचाई आयोजना निर्माणपछि दिगोपनाको चिन्ता

पर्वत, असार २७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले २०५८ सालबाट नियमित बजेट बिनियोजन गराउदै आएको मल्लाज सिंचाई आयोजनाको दिगोपनाका लागि स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।
लामो र भिरका कारण पटक–पटक नहर पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले दिगोपनाका लागि सरकार र स्थानीयले ध्यान दिनुपर्ने बताए । उनीहरुले आयोजनाको दिगोपनासँगै सरकारले करोडौ रुपैयाँ गरेको लगानीबाट जनताले आयआर्जन गरी जिविकोपार्जन समेत गर्नुपर्नेमा जोड दिए । सिंचाई विकास सव डिभिजन पर्वत र माझफाँट महिला बचत तथा ऋण सहकारी लिमिटेडले मल्लाजमा आयोजना गरेको सिंचाई आयोजना सञ्चालन र ब्यवस्थापनमा सहकारीको भूमिका विषय अन्तरक्रियामा यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै सिंचाई विकास सव डिभिजन पर्वतका प्रमुख राजेन्द्रकुमार श्रेष्ठले आयोजना पुरा भएपछि सरकारले निरन्तर बजेट नपठाउने भन्दै दिगो रुपमा आयोजना सञ्चालनका लागि स्थानीय सहकारीमार्फत जिम्मा लिनुपर्ने बताए । मल्लाज सिंचाई आयोजनामा सरकारले करोडौ रुपैयाँ लगानी गरेको भन्दै उनले अव आयोजना निर्माण पुरा भएपछि बजेट आउन रोकिने बताए । उनले आयोजनालाई दिगो बनाउनका लागि उपभोक्ताले सहकारीमार्फत भुमिका खेल्नुपर्नेमा जोड दिए ।
निर्माण पुरा हुन लागेका योजनाको भविष्यका बारेमा सिंचाई विकास सव डिभिजन पर्वत चिन्तित भएको उनले बताए । उनले स्थानीय सहकारीले जिम्मा लिएर आयोजना लाई दिगो गराउन आग्रह गरे । श्रेष्ठले आयोजना निर्माण भएपछि धेरै ठाउँमा आयआर्जनका विभिन्न कार्यक्रम भएको भन्दै मल्लाज सिंचाई आयोजना निर्माण भएपछि पनि उपभोक्ताले त्यसको भरपुर उपभोग गरेर विभिन्न आयमुलक काम गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले मल्लाज सिंचाई आयोजना जलजला–१, २, ३ र ४ कै भविष्य रहेको भन्दै त्यसलाई दिगो रुपमा सञ्चालन गर्ने विषयमा ध्यान दिन आग्रह गरे । आयोजनालाई दिगो बनाउनका लागि सिंचाई विकास सव डिभिजन पर्वतले सहकारीलाई अगाडी सारेकोमा उनले प्रशंसा गरे । उनले सरकारले करोडौ रुपैयाँ लगानी गरेको आयोजनाबाट त्यो लगानी भन्दा बढी उपभोक्ताले फाइदा लिनसक्नु पर्ने बताए ।
मल्लाजमा विभिन्न अन्नबालीका साथै तरकारी र फलफूल लगाउन सकिने भन्दै अध्यक्ष तिवारीले त्यसमा ध्यान दिन आग्रह गरे । नजिकैका बजारमा बाहिरबाट कृषिजन्य उत्पादनहरु आइरहेकोमा ध्यानाकर्षण गराउदै आत्मनिर्भरमा जोड दिनुपर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा मल्लाज सिंचाई आयोजनाका अध्यक्ष टेकबहादुर जिसीले विगत डेढ दशकदेखि आयोजना निर्माणका लागि आफुले नेतृत्व लिइरहेको भन्दै लामो र अपठ्यारो ठाउँका कारण निरन्तरतामा चुनौति रहेको बताए । पहरा खोपेर बनाइएको कुलो समय–समयमा भासिने समस्याले अहिले पाइप राख्दा आवश्यक पानी ल्याउन नसकिएको बताए । २०३५ सालमा तत्कालिन राजा बिरेन्द्रको हुकुमीमा निर्माण सुरु भएको आयोजना रोकिदै सुरु हुदै गर्दा अहिलेपनि निर्माणकै चरणमा रहेको छ । जिसीले शाखा नहर निर्माणको अन्तिम अवस्थामा रहेपनि मुल नहर जोखिममा रहेको बताए । सचिव नरबहादुर जिसीले पनि माथिबाट आएको पहिरो पन्छाउन नसक्दा आवश्यक पानी ल्याउन नसकिएको गुनासो गरे । दुबैजनाले आयोजनाको निरन्तरताका लागि सहकारीलाई जिम्मा लगाउने कुरा निकै सकारात्मक भएको बताए ।
महिला बचत तथा ऋण सहकारीका अध्यक्ष शान्ता लामिछानेले आयोजनाबाट उपभोक्ताले आवश्यक फाइदा लिन नसकेकोमा स्वीकार गरिन् । नजिकै बजार रहेपनि तरकारी र फलफुल लगाएर फाइदा लिन नसकेको बताइन् । उनले माघपछाडी आयोजनाको नहरमा पानी ल्याउन नसकिने भन्दै बाह्रै महिना पानी आउने बनाएर सबै उपभोक्ताले आयोजनाबाट फाइदा लिन सक्नुपर्नेमा जोड दिइन् । लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक कमला जिसी र स्वागत भगवती जिसीले गरेकी थिइन ।

spot_img

भर्खरै