spot_img

कारबाही माग गर्दै शिक्षकको शव बोकेर प्रदर्शन


पर्वत, असार २५–आइबल एकेडेमीका शिक्षक नारायण पौडेलको हत्या भएको दाबी गर्दै आफन्तले आइतबार शव बोकेर प्रदर्शन गरेका छन् । कालीगण्डकी नदी किनारमा भेटिएको शव डिएनए परिक्षणमा पौडेलको भएको पुष्टि भएपछि आफन्त र स्थानीयले सदरमुकाम कुश्मामा शवसहित प्रदर्शन गरेका हुन ।
कुश्मा–१ घर भई कुश्मा–९ स्थित कटुवाचौपारीको आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए । उनको दुई सातापछि नदी किनारमा शव भेटिएको थियो । डिएनए परिक्षणका क्रममा शव पौडेलकै भएको पुष्टि भएपछि आफन्तले उनको हत्या भएको दाबी गर्दै दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेका हुन । आफन्तले आइतबार दिनभर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडी शव राखेर प्रदर्शन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयमा प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । प्रहरीले नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई बल प्रयोग गरेपछि प्रदर्शनकारीले समेत ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट एक प्रहरी र तीन पूर्वम्यादी प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान दिवान शाही, पूर्वम्यादी प्रहरी अंकित नेपाली, डम्बरबहादुर कुँवर र लालबहादुर पुन छन् । म्यादी प्रहरीको आइतबार बिदाई तयारी भइरहेको थियो ।
कुश्मा–५ स्थित डेरा लिएर बस्दै आएका २० बर्षिय पौडेलको आत्महत्या नभएर हत्या नै भएको आफन्तको दाबी छ । भेटिएको शवसँगै पौडेलको बाबु, आमाको रगत मिलेपछि भेटिएको शव उनकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
कुश्मा–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिका अन्र्तगत कालीगण्डकी नदी किनारमा शव भेटिएको थियो । उक्त शव पौडेलकै भए÷नभएको बिषयमा पुष्टि गर्न प्रहरीले डिएनए परिक्षणका लागि काठमाडौ पठाएको थियो ।
पौडेलकी आमाले घाटीमा लगाएको माला, जनै र दाँतका आधारमा नारायणकै भएको बताएकी थिइन् । तर, प्रहरीले थप पुष्टि गर्न भन्दै काठमाडौ पठाएको थियो । बिद्यालयमा बिद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि पौडेललाई प्रिन्सिपल बिमल पौडेलले अभिभावकसँग माफी माग्न दबाब दिएका थिए । उक्त दिनपछि नारायण बिद्यालय उपस्थित थिएनन् ।
पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र धुनका लागि भिजाएको कपडाहरु भेटिएको प्रहरीले जनाएको थियो । तीन छोरामध्ये उनी परिवारका माइला हुन । प्रहरीले बिद्यालयका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहिबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
शवको काठमाडौमा पोष्टमार्टम गर्दा घाटीको चोटका कारण मृत्यु भएको भन्ने खुल्न आएको छ । भेटिएको शवमा घाटीको तल्लो भाग छुट्टिएको फेला परेको थियो । कसरी मृत्यु भयो भन्ने बिषय अझै भन्न नसकिने प्रहरी नायव उपरीक्षक शेखर खनालले बताए । ‘अनुसन्धानका लागि कुनै कसर बाँकी राख्दैनौ, सबै कोणबाट अनुसन्धान गरिरहेका छौ’ उनले भने ।

spot_img

भर्खरै