spot_img

यसरी टुंगियो जलजलाको केन्द्र विवाद

पर्वत, असार २३–जलजला गाउँपालिकाको केन्द्र विवाद अन्त्य भएको छ । गाउँसभाका सदस्यको मतविभाजनका आधारमा जलजला–४ लामाखेतमा केन्द्र रहनेगरी निर्णय गरेका हुन । स्थानीय तह निर्धारण आयोगले साबिकको माझफाँट गाविसको कार्यालय मल्लाज तोकेपछि केही वडाका बासिन्दाले त्यसको चर्को बिरोध गर्दै आएका थिए ।
४९ सदस्यीय गाउँसभाका सदस्यमध्ये ३५ जना सदस्यले लामाखेतमा केन्द्र राख्ने पक्षमा मत दिएका हुन । यो निर्णयसँग लामोसमयसम्म केन्द्र राख्ने बिषयमा भएको विवाद अन्त्य भएको छ । केन्द्र विवादका कारण जलजला गाउँपालिकाको दैनिक प्रशासनिक काम बाहेक अन्य सबै काम ठप्प थियो । जलजला गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसीले केन्द्र राख्ने विषयमा भएको विवाद अन्त्य भएको बताए ।
बहुमत सदस्यले लामाखेतमा केन्द्र राख्ने निर्णय गरेसँगै बिवाद अन्त्य भएको उनले जानकारी दिए । ‘संविधानमा बहुमत सदस्यले केन्द्र र नाम परिवर्तन गर्नसक्ने प्रावधानअनुसार बुहमत सदस्यबाट केन्द्र सार्ने निर्णय गरेका हौ’ उनले भने । आयोगले मल्लाजलाई केन्द्र तोकेपछि स्थानीय तहको निर्वाचनअघि लगातार १३ दिनसम्म असन्तुष्ट वडाका बासिन्दाले आन्दोलन गरेका थिए । अन्त्यमा सबैको पायक पर्ने ठाउँमा केन्द्र राख्नेगरी आन्दोलन टुंगिएको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै पुन केन्द्र राख्ने बिषयमा विवाद बढेको थियो ।
गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले अब केन्द्र राख्ने विषयमा भएको बिवाद समाधान भएको बताए । ‘संविधानको प्रावधानलाई टेकेर निर्णय लिएका छौ’ उनले भने–‘अब विवाद अन्त्य भएको छ ।’ उनले केन्द्र विवादले गाउँपालिकाको बजेट निर्माणदेखि थुप्रै काम गर्न नपाएको भन्दै अब सबै काम धमाधम हुने जानकारी दिए ।
मल्लाज केन्द्र राख्ने पक्षकाले केन्द्र सार्न नमानेपछि गाउँसभाका ४९ सदस्यमध्ये २७ जनाले हस्ताक्षर गरी केन्द्र ग्रामप्रकाश उच्चमाविको भवनमा सार्न माग गरेका थिए । जलजला गाउँपालिकाका ५, ६, ७, ८ र ९ का सबै निर्वाचित जनप्रतिनिधी र दुई जना गाउँ कार्यपालिका सदस्य समेत केन्द्र परिवर्तनको पक्षमा उभिएका थिए ।
साविकको बासखर्क, माझफाट, लेखफाट, शालिजा, धाइरिङ, नाग्लीवाङ र बनौ गाविस समेटेर बनेको जलजला गाउँपालिकाको केन्द्र आयोगले माझफाँट गाउँपालिकाको कार्यालय तोकेको थियो । केन्द्र अपायक भएको भन्दै बनौ, नाग्लीवाङ, धाइरिङ, शालिजा र लेखफाँटका स्थानीय बिरोधमा उत्रिएका थिए । उनीहरुले दैनिक रुपमा सदरमुकाम कुश्मामा आन्दोलन गरेका थिए ।
जिल्ला समन्वय समितिले तत्कालका लागि विवाद साम्य पार्ने भन्दै माझफाँटको मोहनचोकमा सम्पर्क कार्यालय स्थापना गरेका थियो । तर, मोहनचोकमा सम्पर्क कार्यालय स्थापना गरेपनि त्यहाँबाट अहिले कुनैपनि काम कारबाही अगाडी बढेको छैन । निर्वाचित जनप्रतिनिधिले पहिलो बैठक बसेको छ महिनाभित्र केन्द्र परिवर्तन गर्न सकिने प्रावधान रहेको छ । गाउँसभामार्फत बजेट तर्जुमा गरेपछि अध्यक्षले बैठक नै नराख्नपनि सक्ने भन्दै असन्तुष्ट पक्षले पहिले केन्द्रको निर्णय गर्नुपर्ने माग गरेका थिए ।

spot_img

भर्खरै