spot_img

कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षकको भएको पुष्टि

पर्वत, असार २३–वेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ । डिएनए परिक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायव उपरीक्षक शेखर खनालले बताए । ‘शवसँग पौडेलको बाबु, आमाको रगत पठाएका थियौ, डिएनए परिक्षणमा म्याच खाएको रिपोर्ट प्राप्त भएको छ’ उनले भने ।
कुश्मा–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिका अन्र्तगत कालीगण्डकी नदी किनारमा शव भेटिएको थियो । उक्त शव पौडेलकै भए÷नभएको बिषयमा पुष्टि गर्न प्रहरीले डिएनए परिक्षणका लागि काठमाडौ पठाएको थियो ।
पौडेलकी आमाले घाटीमा लगाएको माला, जनै र दाँतका आधारमा नारायणकै भएको बताएकी थिइन् । तर, प्रहरीले थप पुष्टि गर्न भन्दै काठमाडौ पठाएको थियो । कुश्मा–१ पाङ घर भएका २० बर्षिय पौडेल कुश्मा–५ मेलमिलापचोकमा डेरा लिएर बस्दै आएका थिए ।
बिद्यालयमा बिद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि पौडेललाई प्रिन्सिपल बिमल पौडेलले अभिभावकसँग माफी माग्न आग्रह गरेको बिद्यालयस्रोतले जनाएको छ । उक्त दिनपछि नारायण बिद्यालय नगएका हुन । पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र लुगा धुनका लागि भिजाएको भेटिएको प्रहरीले जनाएको थियो । तीन छोरामध्ये उनी परिवारका माइला हुन । त्यो घटनापछि शिक्षक बेपत्ता भएका थिए ।
प्रहरीले उक्त शव नारायण पौडेलकै भएको पुष्टि भएपछि आत्महत्या वा हत्या भन्ने बिषयमा अनुसन्धान थालेको जनाएको छ । ‘अब शव पौडेलकै भएको पुष्टि भएको छ’ खनालले भने–‘के कसरी ज्यान गएको हो, सुक्ष्म अनुसन्धान थालेका छौ ।’ प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।
बिद्यालयका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहिबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई प्रहरीले शुक्रबार सात दिनको म्याद थपेको छ ।

spot_img

भर्खरै