पर्वत, असार १८–कुश्माबजारबाट बग्ने ढलको उचित ब्यवस्थापन नहुँदा नेपालकै पहिलो अग्लो पुल खतरामा परेको छ । आकाशेपानी तथा बजारबाट निस्किएको ढलका कारण पुल नजिकै जमिन भासिएको छ । जमिन भासिने र पहिरो जान थालेपछि कुश्मा–ज्ञादी जोड्ने झोलुङ्गे पुल खतरामा परेको हो ।
केही दिनदेखि निरन्तर परेको बर्षामा कुश्माबजारमा जम्मा भएको ढलको पानीको ब्यवस्थित निकास नहुँदा अग्लो पुलतर्फ गइरहेको पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष शिव शर्मा पौडेलले बताए । ढलको पानी निरन्तर पुलबाट मोदीखोलातर्फ जादा अग्लो पुल नजिकै जमिन भाँसिन थालेको हो । ‘जमिन भासिएको छ, पहिरोसमेत जाने सम्भावना बढेको छ’ उनले भने–‘समयमै सम्बन्धित निकायबाट बजारको ढल ब्यवस्थित नगर्ने हो भने नेपालकै पहिलो अग्लो पुल खतरामा छ ।’
ज्ञादीका बासिन्दालाई कुश्माबजारसँगको दुरी घटाउने उद्देश्यले निर्माण गरिएको यो पुल एक सय ३५ मिटर अग्लो र तीन सय ४७ मिटर लामो रहेको छ । यो पुल निर्माणभएपछि एक घण्टाको दुरी ज्ञादीका बासिन्दालाई पाँच मिनेटमा छोटिएको छ । अहिले बजारको ढलले पुल वरपरको जमिन खोल्न थालेपछि पुल खतरामा परेको हो । त्यसैले समयमै ढलको ब्यवस्थापन गर्न अपरिहार्य रहेको पौडेलले बताए ।


