पर्वत, जेठ १५–इलाका प्रशासन कार्यालय स्थापना भएपछि खुशी भएका पर्वतको दक्षिण भेगका बासिन्दाको खुशी धेरै समय टिकेन । इलाका प्रशासन कार्यालयले नागरिकता बितरण र राहदानी सिफारिस गर्न छाडेपछि पैंयूँ, बिहादी र महाशिला गाउँपालिकाका बासिन्दाको सास्ती सुरु भएको हो । विगत चार महिनादेखि इलाका प्रशासन कार्यालय हुवासले नागरिकता बितरण र राहदानी सिफारिस रोकेको हो ।
नागरिकतासहितका अत्यावश्यक सेवा रोकिएपछि त्यसभेगका बासिन्दाले बिरोध र आक्रोश ब्यक्त गरेका छन् । गत साउनमा त्यहाँका स्थानीयको जोडबलमा कार्यालय सञ्चालनमा आएपनि गृह मन्त्रालयको लापरबाहीले नागरिकता बितरण हुन छाडेपछि स्थानीयले आक्रोश ब्यक्त गर्न छाडेका हुन । अहिले पैंयूँ, बिहादी र महाशिला गाउँपालिकाका १७ वटा वडाका बासिन्दा नागरिकता लिनकै लागि पुनः सदरमुकाम कुश्मा धाउन बाध्य भएका हुन ।
नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले इलाका प्रशासन कार्यालयले नागरिकता बितरण रोक्दा इलाका प्रशासन हुनु र नहुनुमा कुनै अन्तर नभएको बताए । उनले तत्काल कर्मचारीको ब्यवस्थापन गरेर नागरिकता बितरण थाल्न प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको ध्यानाकर्षण गराएका छन् । ‘इलाका प्रशासन कार्यालयबाट नागरिकता बितरण नगर्नु यो चरम लापरबाही हो’ उनले भने–‘कसको कमजोरी छ, तत्काल नागरिकता बितरण सुरु हुनुपर्छ ।’
पैंयूँ गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले पनि इलाका प्रशासन कार्यालयबाट नागरिकता बितरण रोकिदा जनतालाई समस्या भएको बताए । ‘नागरिकता बनाउनका लागि सदरमुकाम कुश्मा नै धाउनुपरेपछि इलाका प्रशासन कार्यालय हुनुको औचित्य के रह्यो र रु’ उनले भने । गाउँपालिका अध्यक्ष तिवारीले अधिकृतस्तरको कर्मचारी खटाएर नागरिकता बितरण र राहदानी सिफारिस गर्ने ब्यवस्था मिलाउन माग गर्दै मन्त्रालयमा ज्ञापन बुझाएर फर्किएका छन् ।
‘मन्त्रालयले एक साताभित्र अधिकृतस्तरको कर्मचारीको ब्यवस्थापन गर्ने आश्वासन दिएपछि फर्किएका हौ’ उनले भने । अहिले बैशाख अन्तिम सातादेखि नै लगातार बर्षा सुरुभएपछि सदरमुकाम जानका लागि यातायातको समेत समस्या भएको छ । एउटा नागरिकता बनाउनका लागि पैंयूँ, बिहादी र महाशिलाका बासिन्दा अब स्याङ्जा र कास्की हुँदै सदरमुकाम जानुपर्ने समस्या फेरी सुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले इलाका प्रशासन कार्यालय हुवासका प्रमुख काजमा मन्त्रालयमा बसेपछि नागरिकता बितरण रोकिएको जानकारी दिए । ‘हामीले मन्त्रालयमा धेरै पटक अधिकृतस्तरको कर्मचारीको ब्यवस्था मिलाउनका लागि अनुरोध गरिरहेका छौ तर ब्यवस्थापन हुन सकेको छैन’ प्रजिअ मरासिनीले भने–‘जनताको कठिनाईलाई मध्यनजर गरेर पुनः मन्त्रालयमा अनुरोध गर्छौ ।’ उनले अहिले इलाका प्रशासन कार्यालयमा रहेका नायब सुब्बालाई कामु दिन नमिल्दा नागरिकता बितरण गर्न नसकिएको बताए । नासुलाई कामु दिनका लागि पाँच बर्ष अवधि पुगेको हुनुपर्छ । इलाका प्रशासन कार्यालय हुवासका नासु लिलाबल्लभ काफ्लेले दैनिक नागरिकता बनाउन र राहदानीको सिफारिस लिन सेवा ग्राही आएपनि दिन नसकिएको बताए ।


