पर्वत, जेठ १५–स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएपछि अब दोस्रो चरणको स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने भएको छ ।
नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रबिच भएको सहमतिअनुसार देउवा आगामी साता मुलुकको प्रधानमन्त्री बन्दैछन् । चौथो पटक प्रधानमन्त्रीको पद सम्हाल्न लागेका देउवाले नै दोस्रो चरणको निर्वाचन गराउनेछन् । प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले राजीनामा स्वीकृत गर्दै सहमतिय सरकार गठन गर्नका लागि एक साताको समय दिएकी छन् ।
राष्ट्रपतिले सहमतिय सरकार गठन गर्न समय दिएपनि सहमतिय सरकार बन्ने सम्भावना छैन । एक साताको समयसिमा सकिएपछि राष्ट्रपतिले बहुमतिय सरकार गठनका लागि समय दिनेछिन् । त्यसपछि देउवा नेकपा माओबादी केन्द्र, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायत दलको समर्थनमा सरकारको नेतृत्व गर्ने तयारीमा रहेका छन् ।
देउवा प्रधानमन्त्री भएपछि पर्वतमा तीन पटकसम्म पर्वत–१ बाट निर्वाचित भएका ब्यवस्थापिका संसदका सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी मन्त्री बन्ने भएका छन् । देउवानिकट स्रोतका अनुसार काँग्रेसका प्रभावशाली नेता जोशीलाई मन्त्रीका लागि पहिलो प्राथमिकतामा राखेका छन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री बनाउने देउवाले प्रस्ताव गरेपनि पार्टीको केन्द्रीय सदस्यमा मनोनित मागेर मन्त्री पद त्यागेका जोशीलाई देउवाले यसपटक स्थानीय विकास, पर्यटन, बन, उर्जा, सिंचाई मन्त्रालयमध्ये एक मन्त्रालयको जिम्मा दिने भएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जोशी हाल पार्टी सभापति देउवाका विश्वासपात्र मानिन्छन् । जोशीलाई देउवाले प्रदेश नम्बर ४ को उदियमान नेताका रुपमा लिएका छन् ।
यसअघि बागलुङको एक कार्यक्रममा आउनुभन्दा एक दिनअघि एकजनामात्रै केन्द्रीय सदस्य पदमा जोशीलाई मनोनित गरेर मात्रै देउवा धौलागिरी प्रवेश गरेका थिए । १६ बर्षसम्म नेपाली काँग्रेस पर्वतको पार्टी सभापति, तीन कार्यकाल पार्टीको केन्द्रीय समितिमा रहेका जोशीले पर्वत क्षेत्र नम्बर १ बाट २०५६ सालको प्रतिनिधि सभा, २०६४ को संविधानसभा निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा बिजयी भएका थिए ।
नेपाली काँग्रेसभित्र लगातार चुनाव जित्नेमध्ये नेता जोशी, पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पर्छन । सभापति देउवा यसपटक जोशीलाई अन्याय नगर्ने पक्षमा देखिएका छन् । ‘तीन÷तीन पटक चुनाव जितेर आएको नेतालाई यसपटक मन्त्री बनाएरै छाड्ने पक्षमा सभापति देखिनुभएको छ’ देउवा निकट स्रोतले भन्यो ।
यसअघि काँग्रेस सरकारमा जादा जोशीलाई सरकारमा नपठाएकोमा पर्वतसहित धौलागिरीकै काँग्रेस कार्यकर्ताले पार्टीमा असन्तुष्टि जनाउदै आएका थिए । धौलागिरीमा आउने पार्टीका मुख्य नेताप्रति पर्वतका कार्यकर्ताको यस्तै आक्रोश ब्यक्त हुने गरेको छ ।
अर्को साता देउवा प्रधानमन्त्री, तीन पटक चुनाव जितेका पर्वतका जोशी मन्त्री बन्ने पक्का
