spot_img

पर्वतको पत्रकारितालाई संस्थागत गर्न कन्जुस्याई गर्दिन ः जोशी


पर्वत, जेठ ११ । स्थानिय तहको निर्वाचनमा कुश्मा नगरपालिकामा बिजयी नगर प्रमुख र उपप्रमुखलाई नेपाल पत्रकार महासंघ पर्वतले सम्मान तथा बधाई ज्ञापन गरेको छ ।  विहीवार महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको धौलागिरी शाखाका पूर्वउपसभापति तथा पर्वतका संस्थापक समेत रहेका रामचन्द्र जोशी र उपमेयर सिता काफ्ले लामिछानेलाई सम्मान गरेको हो । जोशी र लामिछानेलाई नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीसहित महासंघका पदाधिकारी, कार्य समिति सदस्य र पत्रकारहरुले अबिर र खादा लगाएर सम्मान गरेका हुन । महासंघले पर्वत जिल्लाको पत्रकारिता क्षेत्रलाई नजिकबाट पहिचान गर्ने ब्यक्तित्व कुश्मा नगरपालिकाको नेतृत्वमा पुगेकोमा बधाई दिदै कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेको छ ।

सम्मान तथा बधाई कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले स्थानिय स्तरका विकास निर्माणमा पत्रकारहरुको भुमिका महत्वपूर्ण रहने बताउदै आफ्नो एकमात्र उद्देश्य समृद्ध कुश्मा नगर बनाउने भएकोले आफ्नो अभियानमा साथ दिन जिल्लाका पत्रकार समक्ष आग्रह गरे । उनले नगरको विकास निर्माण र समस्याहरुमा पत्रकार र नगरपालिका सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
जोशीले आफु नगरको प्रमुख भएपनि पर्वतको पत्रकारिताक्षेत्रमा पारिवारिक ब्यक्तिका रुपमा लिएको भन्दै पत्रकारिताको संस्थागत विकास र स्थानीय संचारमाध्यमको सबलीकरण र संरक्षणका लागि सधै साथमा रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपमेयर सिता काफ्ले लामिछानेले पत्रकार र नगरपालिका सम्वन्ध नङ र मासुको जस्तै भएको बताउँदै नगरको विकास र समृद्धिका लागि  पत्रकारिता जगतले महत्वपूर्ण भूमिका खेल्ने बताइन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष छविलाल तिवारीले पर्वतको पत्रकारितालाई संस्थागत गर्ने ब्यक्तिलाई नगर प्रमुखका रुपमा पाउदा महासंघ गौरवान्विक भएको भन्दै पत्रकार महासंघको भौतिक विकास र मिडिया सबलीकरणका लागि नगरको नयाँ टिमले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरेका थिए । तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व अध्यक्ष ओमप्रसाद घायल लगायतले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरी र कार्यक्रमको सञ्चालन महासंघका सदस्य साजन परियारले गरेका थिए ।

spot_img

भर्खरै