पर्वत, जेठ ४–पर्वतमा चारमा एमाले र तीन स्थानीय तह काँग्रेसले जितेको छ । कुश्मा नगरपालिका, पैंयूँ र जलजला गाउँपालिका काँग्रेस र फलेबास नगरपालिका, बिहादी, महाशिला र मोदी गाउँपालिका एमालेले जितेको छ ।
चारदिनदेखिको मतगणना बिहिबार सकिएको छ । कुश्मा नगरपालिकाको मेयरमा काँग्रेसका युवा नेता रामचन्द्र जोशी बिजयी भएका छन् । त्यस्तै उपमेयरमा काँग्रेसकै सिता लामिछानेले जितिन् । फलेबास नगरपालिकाको मेयरमा एमालेका युवा नेता पदमपाणी शर्माले जिते । उपमेयरमा ब्यवस्थापिका संसद सदस्य विकास लम्सालकी पत्नी मञ्जु अधिकारी बिजयी भएकी छन् ।
पैंयूँ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्षमा काँग्रेसकै जसमति गुरुङ, जलजला गाउँपालिकाको अध्यक्षमा काँग्रेसका यामबहादुर मल्ल, उपाध्यक्षमा काँग्रेसका सिमा पुन बिजयी भइन् । बिहादी गाउँपालिकामा एमालेका कमल भुसाल, उपाध्यक्षमा एमालेकै डम्बरकुमारी गुरुङ, महाशिला गाउँपालिकाको अध्यक्षमा एमालेका राजु पौडेल र उपाध्यक्षमा एमालेकै हिरा थापाले जित हात पारिन ।
उता पर्वतकै सबैभन्दा स्रोतसाधनयुक्त मानिएको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल र सेती महत बिजयी भएका छन् ।
वडा अध्यक्ष पदमा पनि अधिकांशमा एमाले उम्मेदवार बिजयी भएका छन् । पर्वतका ६१ वडामध्ये एमालेले ३७ वडामा जित हात पारेको छ । काँग्रेसले २० वटा वडा र नेकपा माओबादी केन्द्रले चार वटा वडाअध्यक्ष जितेको छ ।