पर्वत, जेठ २–मोदी गाउँपालिका वडा नम्बर २ मा निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले नै धाँधली सुरु गरेका छन् । वडा अध्यक्षसहित तीन सदस्य एमाले र एक सदस्य नेपाली काँग्रेस बिजयी भएकोमा धाँधली गरी सबै पद एमालेले जितेको घोषणा गरेका हुन ।
मत गणनाका क्रममा वडा अध्यक्षमा एमालेका विकास तिमिल्सिना ७१४ मतसहित बिजयी भए । उनीसँगै एमालेका तीन सदस्य र काँग्रेसका एक सदस्य बिजयी भएका थिए तर उनले घोषणाका क्रममा धाँधलीपूर्वक सबै पदमा एमाले बिजयी भएको बताएपछि अहिले विवादले तिब्र रुप लिएको छ ।
मोदीमा मतगणना नै स्थगित भएको छ । अहिले सबै राजनीतिक दलका नेताहरुलाई बोलाएर बैठक बस्ने तयारी भएको छ । मतगणनामा गाउँपालिकाको प्रमुखमा काँग्रेस ५६५, एमाले ६९४, उपप्रमुखमा काँग्रेस ५७२, एमाले ६१९, वडा अध्यक्षमा काँग्रेस ५६६, एमाले ७१४, महिला सदस्यमा काँग्रेस ५७२, एमाले ६२८, दलित सदस्यमा ५७०, एमाले ६२८ र खुल्ला सदस्यमा काँग्रेसको ५९३ र ५७५ र एमालेको ५७७ र ६११ मत प्राप्त भएको थियो ।
तर, घोषणाका क्रममा धाँधली गर्दै बिजयी भएका काँग्रेसका जिबन्धर शर्मालाई पराजित भएको बताइएपछि मोदीमा तनाब भएको छ । निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले टिप्नेक्रममा गल्ती हुँदा समस्या भएको बताए । स्रोतका अनुसार मोदीमा एमालेनिकट कर्मचारीहरुले मतगणनामा गलत मतगन्ने गरेको समेत पाइएको छ । रुखमा खसेको मत समेत सुर्य भन्दै उच्चारण गर्ने गरेको समेत भेटिएपछि मतगणनामा सत्य परिणाम निस्कनेमा शंका गरिएको छ ।