पर्वत, बैशाख २४
कुश्मा नगरपालिकाका नेपाली काँग्रेसको तर्फबाट प्रमुख (मेयर) पदका उम्मेदवार रामचन्द्र जोशी र उपप्रमुख (उपमेयर) पदका उम्मेदवार सिता काफ्ले लामिछानेले आइतबार खौलालाकुरीमा चुनावीसभा सम्पन्न गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगायत दलका दर्जनौ कार्यकर्तालाई प्रवेश गराएका छन् । मेयर पदका उम्मेदवार जोशी, उपमेयर पदका उम्मेदवार लामिछाने, नेपाली काँग्रेस पर्वतका पूर्वसभापति लालकाजी गुरुङले नेपाली काँग्रेसमा स्वागत गरेका थिए ।
चुनावीसभालाई सम्बोधन गर्दै रामचन्द्र जोशीले आफुले कसैलाई झुठा आश्वासन नदिने तर कुश्मा नगरपालिकालाई नेपालभरीकै एक नम्बर बनाएर देखाउने दाबी गरेका छन् । ‘म गफ भन्दा पनि काम गरेर देखाउने ब्यक्ति हो, कुश्मा नगरपालिकाको बस्ती–बस्तीको विकासको आवश्यकताको बारेमा मलाई ज्ञान रहेकोले पनि के गर्दा कुश्मा नगरपालिका नेपालकै उत्कृष्ट बनाउन सकिन्छ भन्नेमा मसँग राम्रो ज्ञान छ’ उनले सहभागीलाई सम्बोधन गर्दै भने ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्वसभापति लालकाजी गुरुङले सिंहदरबारको अधिकार अब स्थानीय तहमै प्राप्त हुने भएकोले स्थानीय तहलाई समृद्ध बनाउदै विकास निर्माणका लागि काँग्रेसले जित्नुको विकल्प नभएको बताए । उपमेयर पदकी उम्मेदवार सिता काफ्ले लामिछानेले विकास निर्माण र समृद्ध नगर बनाउनेसँगै नगरभित्रका महिला, दलित, जनजाति, बिपन्न बर्गको उत्थानका साथै युवाहरुलाई स्थानीयस्तरमै रोजगारी सिर्जना गरी आयआर्जनमा आत्मनिर्भर बनाउनका लागि नेपाली काँग्रेसले जित्नैपर्ने बताइन ।