पर्वत, बैशाख २४
नेपाल पत्रकार महासंघ पर्वतले धौलागिरी शाखाका पूर्वउपसभापति रामचन्द्र जोशीको घरमा सकेट बम राखिएको र पर्वतका पूर्वउपाध्यक्ष गोपाल जिसीलाई प्रहरीले नियन्त्रणमा लिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरी महासंघले चार दिन बितिसक्दा पनि घटनाको बिस्तृत बिबरण सार्बजनिक नभएकोमा चासो ब्यक्त गरेको हो । घटनाको तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न महासंघले माग गरेको हो । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र सचिव गणेश गिरीले बिज्ञप्तीमार्फत यस्तो माग गरेका हुन ।
जोशीको घरमा यही बैशाख २१ गते सकेट बम फेला परेको थियो । प्रहरीले बम भेटिनुअघि समाचार र भेटिएको बमसँग मिलेको फोटो प्रकाशित गरेकोमा शंका ब्यक्त गर्दै पत्रकार जिसीसहित सोही दिन पाँच जनालाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी प्रमुख शेखर खनालले समाचार प्रकाशित गरेको बिषयमा जिसीलाई नियन्त्रणमा लिएको नभई घटनामा संलग्न भएको हुनसक्ने आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएका छन् ।