काठमाडौं २४ बैशाख
चालु आवको पहिलो त्रैमाशमा १८ वाणिज्य बैंकहरुको कुल नाफा ३६.६९ प्रतिशतले वृद्धि भएर २२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । नाफा रकमको आधारमा नबिल बैंक सबैभन्दा अगाडि छ । बैंकको २ अर्ब ६८ करोड नाफा रहेको छ । प्रतिशतका आधारमा प्रभु बैंक सबैभन्दा अगाडी छ । बैंकको नाफा ९० प्रतिशतले बढेको छ ।
१० को नाफा अर्ब माथि
मर्जर लगायतको कारण बनिबनाउ व्यवसाय समेत पाउन थालेका बैंकहरुको नाफामा उच्च वृद्धि देखिएको छ । १० वाणिज्य बैंकको नाफा १ अर्बभन्दा माथि छ । नबिल जस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा पनि २ अर्ब माथि छ । कृषि बिकास, एभरेष्ट, ग्लोबल आइएमइ, प्रभु, एनएमबी, एनआइसी एशिया, नेपाल एसबिआई, माछापुच्र्छे बैंकको नाफा अर्ब माथि छ ।
निक्षेप २२ प्रतिशत बढ्दा कर्जा ३१ प्रतिशत
बैंकहरुको निक्षेप २२ प्रतिशतले बढेर १३ खर्ब ३५ अर्ब संकलन भएको छ । त्यस्तै, कर्जा ३०.९८ प्रतिशतले बढेर ११ खर्ब ४२ अर्ब पुगेको छ । फागुनसम्ममा नै सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको निक्षेप कुल गाहस्र्थ उत्पादन बराबर पुगिसकेको छ । यद्यपी लगानीमा आक्रामक बनेका बैंकहरुसँग रहेको कर्जा योग्य लगानीको लागि पुँजी अभाव देखिदै आएको छ । राष्ट्र बैंकले हाल उत्पादन मुलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत रकम सीसीडी रेसियो (निक्षेप तथा कोर पुँजीको तुलनामा कर्जा) गणनामा प्रयोग गर्न नपर्ने भएको छ ।
बैंकहरुको कर्जा र निक्षेपको मात्र (सीडी रेसियो) अनुपात भने ८५.४९ प्रतिशत छ । राष्ट्र बैंकको सहुलियतपछि पनि बैंकहरु थप कर्जा दिन ‘टाइट’ अवस्थामा देखिन थालेका छन् । बैंकहरु अनुसार सीसीडी रेसियो भने ६७ देखि ७९ सम्म रहेको वित्तीय विवरणबाट देखिन्छ ।
बैंकहरुको घरजग्गा कर्जामा ३२ प्रतिशत, सेयर धितोमा कर्जा ३० प्रतिशत, ओभरड्राफ्ट कर्जा २३ प्रतिशत र अन्य शिर्षकको कर्जा ५३ प्रतिशतले वृद्धि भएको छ ।
नाफाको २२ प्रतिशत बराबर खराब कर्जा असुली
बैंकहरुको नाफा रकमको २२ प्रतिशत बराबर हिस्सा खराब कर्जा असुलीबाट आएको देखिन्छ । २२ अर्ब नाफा कमाउँदा यी बैंकहरुले ४ अर्ब रुपैयाँ असुल गरेका छन् । प्रभु एक्लैको खराब कर्जा असुली नाफा बराबर (१ अर्ब माथि) छ ।
व्यावसायमा ३३ प्रतिशत वृद्धि
बैंकहरुको मुल व्यावसायबाट भएको आम्दानी (खुद ब्याज आम्दानी) ३४.४१ प्रतिशतले बढेर ३९ अर्ब पुगेको छ । बैंकहरुको फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य सञ्चालन आम्दानीमा पनि १० देखि ३४ प्रतिशत वृद्धि छ । यी शिर्षकबाट मात्रै बैंकहरुले १२ अर्ब २० करोड कमाएका छन् ।
बैंकहरुको चुक्ता पुँजी ४७ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ भने सञ्चिती ३० प्रतिशत बढेर ६५ अर्ब भएको छ । बैंकहरुको सेयरमा प्रतिफल १३ प्रतिशतदेखि ३० प्रतिशतसम्म रहेको छ ।
बैंकको कर्मचारी खर्च २४ प्रतिशत बढेर ९ अर्ब ९४ करोड पुगेको छ भने अन्य सञ्चालन खर्च करिब २६ प्रतिशत बढेर ७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।