spot_img

पैंयूँमा पूर्वगाविस अध्यक्षबिच प्रतिष्पर्धा

खगेन्द्रप्रसाद तिवारी

इन्दिरा देवी शर्मा

पर्वत, बैशाख २४ ।

सँगै राजनीतिक यात्रा प्रारम्भ । २०४३ सालमा दुबै जना प्रधानपञ्च । २०४९ सालमासँगै गाविस अध्यक्ष निर्वाचित । स्थानीय तहको चुनावमा पैंयू“ गाउँपालिकाको अध्यक्षका प्रतिष्पर्धी ती हुन नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारी र एमालेका मित्रलाल बस्याल ।

आधा दर्जन आकांक्षी हुँदाहुँदै काँग्रेसले जीत सुनिश्चित गर्न भन्दै पार्टीले पैयूँका प्रभावशाली तिवारीलाई उम्मेदवार बनाएको हो । एमालेले काँग्रेससँगको प्रतिष्पर्धामा उत्रनसक्ने नेताका रुपमा बस्याललाई अगाडी सारेको छ । काँग्रेसका महासमिति सदस्य तिवारी २०४३ सालमा भएको पञ्चायत चुनावमा सरौखोला गाउँपञ्चायतबाट प्रधानपञ्च भएका हुन ।

एमालेका पूर्वक्षेत्रीय अध्यक्ष बस्याल हुवास गाउँ पञ्चायतबाट २०४३ सालमै प्रधानपञ्चमा चुनाव जिते । २०४६ सालको परिवर्तन पछि धेरै पञ्चहरु काँग्रेस एमालेमा प्रवेश गरे । तिवारी २०४८ सालमा काँग्रेसमा भित्रिए । बाल्यकालदेखिकै तिवारीका साथी र पारिवारिक सम्बन्ध बोकेका बस्याल त्यही समयमा एमाले भए । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा पनि तिवारी र बस्याल गाविस अध्यक्षमा निर्वाचित भए । तिवारी सरौखोला गाविस र बस्याल हुवास गाविसको अध्यक्षमा चुनाव जिते ।

मित्रलाल बस्याल

२०५४ सालको स्थानीय निकायको चुनावमा समेत सरौखोला गाविसमा अध्यक्षमा निर्वाचित तिवारी हाल काँग्रेसको महासमिति सदस्य छन् । उनी १२ औ र १३ औ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । बस्याल नेकपा एमाले पर्वत क्षेत्र नम्बर २ का पूर्वक्षेत्रीय अध्यक्ष हुन । यसरी बाल्यकालदेखिका साथी भएर फरक–फरक पार्टीमा राजनीति गर्ने तिवारी र बस्यालबिचको प्रतिष्पर्धा लाई रोचक मानिएको छ ।

पैंयू गाउँपालिकाको जनतामा उत्तिकै मात्रामा भिजेका छन् दुबैजना । दुबै उम्मेदवार पैंयूक्षेत्रमा लोकप्रिय मानिन्छन् । २०५४ सालको स्थानीय निकायको चुनावमा पैंयु गाउँपालिकामा रहेका साविकका छ वटा गाविस मध्ये हुवास, टकलाक, बेउलीबास, सरौखोला र भोर्ले काँग्रेसले र त्रिवेणी एमालेले जितेको थियो । मतका हिसाबले काँग्रेसको पकेटक्षेत्र मानिन्छ पैंयूँ । तर, विगतका चुनावलाई केलाउदा पैयूँका मतदातामा पार्टीभन्दा ब्यक्ति रोज्ने प्रबृत्ति हाबी छ ।

दुबै जनाले पैंयुँ गाउँपालिका लाई समृद्ध बनाउन कृषि, पर्यटन र पूर्वाधारलाई प्रमुख मुद्दा बनाएका छन् । सात वटा वडा रहेको पैयुँ गाउँपालिकामा नौ हजार आठ सय ६६ जना मतदाता रहेका छन् । पैंयू गाउँपालिकामा नेकपा माओबादी केन्द्रबाट अध्यक्षमा पुण्यप्रसाद आचार्य उम्मेदवार बनेका छन् । उपप्रमुखमा काँग्रेसबाट पुराना नेतृ जसमति गुरुङ, एमालेबाट गोमता शर्मा र माओबादी केन्द्रबाट अम्बिका न्यौपाने उम्मेदवार भएका छन् । काँग्रेसले यो गाउँपालिकामा सबैभन्दा पहिले सर्बसम्मत रुपमा उम्मेदवार चयन गरेको थियो । अन्यत्र मनोनयन दर्ताको दिन मात्रै उम्मेदवारको बारेमा निर्णय हुँदै गर्दा पैंयूमा काँग्रेसका उम्मेदवार धेरै ठाउँमा प्रचार सकिसकेका थिए ।

spot_img

भर्खरै