इलाम, भदौ १७ । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलामले महसुल नतिर्ने २९ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।
लामो समयदेखि विद्युत् सेवा प्रयोग गरेर महसुल नतिर्ने ग्राहकको लाइन काटेर कालोसूचीमा राखेको प्राधिकरणले जनाएको छ । महसुल बुझाउन पटकपटक ताकेता गरे पनि अटेर गर्ने ग्राहकलाई कालोसूचीमा राखेको प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलले बताए ।
कालोसूचीमा पर्नेमा धेरैजसो व्यक्ति तथा उद्योग सञ्चालक रहेका छन् । उनीहरुले ६/७ वर्ष अगाडिदेखि महसुल नबुझाएपछि लाइन काटेर कालोसूचीमा राखेको प्राधिकरणले जनाएको छ ।
समयमै महसुल नबुझाउने ग्राहकबाट महसुल उठाउनका लागि प्राधिकरणले अभियान चलाउने तयारी गरेको छ ।