spot_img

गाउँमाथिबाट पहिरो खस्न थालेपछि चिमखोलावासी त्रसित

म्याग्दी, १४ भदौ । म्याग्दीको चिमखोला गाउँमाथि रहेको भिरबाट पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । 

चिमखोला–२, ३ र ४ वडाको बस्तीदेखि माथि रहेको बिराउटो भिरबाट पहिरो खस्न थालेपछि स्थानीय त्रसित बनेको स्थानीयवासी दुर्गा पुनले जानकारी दिनुभयो ।
आइतबार साँझ ६ः३० बजेदेखि भिरबाट पहिरो खस्न थालेपछि स्थानीय करिब ९० घरधुरी बस्ती छाडेर अन्यत्रै सुरक्षित स्थानमा गएर रात कटाएको उहाँले बताउनुभयो । “माथिबाट ढुङ्गा र माटो खस्ने क्रम रोकिएको छैन, ठूलै पहिरो जान सक्ने खतरा बढेपछि सर्वसाधारण चिन्तित बनेका छन्”, उहाँले भन्नुभयो ।
उक्त पहिरोले गाविसको ६ र ७ वडाका बस्तीलाई समेत असर पु¥याउने बताइएको छ । त्यस्तै हिजो नै चिमखोलाको महभिरबाट खसेको पहिरोले वडा नं १ मा रहेका घरसमेत पहिरोको जोखिममा परेको पुनले बताउनुभयो ।
भिरमाथिबाट खसेको पहिरोले जग्गाजमिन पुरे पनि बस्तीसम्म आइनपुगेकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।
स्थानीयले पहिरोको जोखिमबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन बेनीतर्फ एक टोली आउँदै गरेको बताएका छन् । सदरमुकाम बेनीदेखि एक दिनको पैदल दूरीमा रहेको चिमखोलामा सहज सञ्चार पहुँच नहुँदा थप समस्या देखिएको छ । रासस

spot_img

भर्खरै