पर्वत/जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिले आफूले पाएको दशैँभत्ता कोरोना उपचारका लागि फिर्ता गरेका छन् । जलजला गाउँपालिकाको विहिवार सम्पन्न बैठकले पालिकाभित्रका ४९ जना जनप्रतिनिधिको झण्डै आठलाख रूपैयाँ कोरोना उपचारमा खर्च गर्नेगरि फिर्ता गरिएको र उक्त रकम आजै कोरोनाकोषमा जम्मा गरिएको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले मंगलबारदेखि नै समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारमा भने सबैको स्वाब संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँचसय जनाको पिसिआर परीक्षण गरिसकेको छ ।
गाउँपालिकाले सबै गाउँपालिकाबासीलाई सो सुविधा लिन अपिल समेत गरेको छ । अध्यक्ष मल्लले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिएको दाबी गर्नुभयो । ’कोरोना महामारीको उपचारमा पनि केन्द्र सरकारले उदासिनता देखाएपछि जनतालाई सरकारको अनुभूति दिन हामीले जलजलाबाट यो अभियान सञ्चालन गरेका हौँ ।’-अध्यक्ष मल्लले भन्नुभयो ।
कोरोना महामारी विरूद्धको अभियानमा शुरूदेखि नै निकै सक्रियताका साथ लाग्नुभएका अध्यक्ष मल्ल र जलजला गाउँपालिकाको यो ‘एकघर एक पिसिआर’ अभियानको पनि सर्वत्र प्रशंसा गरिएको छ ।



