पर्वत, जेठ २२–पर्वतमा थप चार जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको परिक्षणमा पर्वतको बिहादीका दुई र फलेबास नगरपालिकाका दुई गरी चार जनाको नतिजा पोजेटिभ आएको हो । बिहादी गाउँपालिकाका २४ र २८, फलेबास नगरपालिकाकाका २१, २१ बर्षका पुरुषमा पाजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिए । यो संगै पर्वतमा कोरोनाबाट संक्रमित हुनेको संख्या नौ पुगेको छ ।
पर्वतमा भारतबाट आएका थप एक सय ३० जनाभन्दा बढीको परिक्षण गर्न बाँकी रहेको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिए । उनकाअनुसार बिहिबार बिहानै कोरोना संक्रमित पुष्टि भएका चारै जनालाई कोरोना अस्थायी अस्पताल लैजाने तयारी भएको छ । उनीहरु कुश्माको एक होटलमा क्वारेन्टाइनमा बसेका मध्येका हुन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा.देवकोटाले बताए । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । बिहिबार बिहान मात्रै गण्डकी प्रदेशमा बागलुङका एक महिलासहित १० जना, स्याङ्जा र म्याग्दीमा एक÷एक जना गरी १६ जना कोरोना संक्रमित भेटिएका हुन ।


