पर्वत, जेठ २४–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । पर्वत जिल्लालाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित राख्ने अभिप्रायले जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई शनिबार जिल्ला प्रशासनमा पुगेर अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीमार्फत समितिलाई उक्त स्वास्थ्य सामग्री जोशीले हस्तान्तरण गरेका हुन ।
चार हजार पाँच सय थान मास्क, दुई सेट पिपिइ र तीन सय बोतल सेनिटाइजार प्रमुख जिल्ला अधिकारी रेग्मीमार्फत जोशीले हस्तान्तरण गरेको जानकारी दिए । सरकारले राहत एकद्धार प्रणालीमार्फत बितरण गर्ने नीतिअनुसार आफुसँग प्राप्त भएको स्वास्थ्य सामाग्री सरकारी निकायमार्फत नै बितरण गर्नका लागि हस्तान्तरण गरेको जोशीले बताए ।
काँग्रेस नेता जोशीले कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने दायित्व र जिम्मेवारी सबैको भएकोले शुरूदेखि नै आफूले यो अभियानमा रचनात्मक सुझाव सहित सहयोग गर्दै आएको वताए । ‘हरेक महामारी र विपत्ति जिल्लाबासीका साझा समस्या हुन्, यी समस्याविरूद्ध हामी सबैको साझा दृष्टिकोण र प्रतिबद्धता चाहिन्छ’–नेता जोशीले भने । उनले कोरोनाको नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले बनाउने हरेक रणनीतिक योजनामा आफ्नो पुरै सहयोग रहने प्रतिबद्धता समेत जनाए ।
काँग्रेस नेता जोशीले स्वास्थ्य सामग्री व्यवस्थापनमा सहयोग गर्ने वतास ब्रदर पोखरा, हरिवोल भण्डारी अमेरिका, महेश श्रेष्ठ जापान र विद्यार्थी नेता केदार सुवेदी लगायतलाई धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले संकटको घडीमा स्वास्थ्य सामग्री सहयोग गरेर कोरोना विरूद्धको अभियानमा महत्वपूर्ण योगदान पु¥याएकोमा संविधानसभा सदस्य जोशीप्रति धन्यवाद प्रकट गरे ।
प्रजिअ रेग्मीले पर्वतमा कोरोना संक्रमितको संख्या बढ्ने संभावना रहेकोले आईसोलेशन थप गर्न आवश्यक रहेको भन्दै त्यसकालागि आवश्यक सहयोग गर्न नेता जोशीलाई अनुरोध समेत गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका डा.भोजराज गौतमले समितिलाई प्राप्त स्वास्थ्य सामग्रीहरू आवश्यकता अनुसार सातै स्थानीय तहमा पु¥याउने प्रतिबद्धता जनाए ।
काँग्रेस केन्द्रीय सदस्य जोशीले दिए स्वास्थ्य सामाग्री


