spot_img

वडा–वडामै योजना सम्झौता, मोदीले माघ मसान्तपछि सम्झौता नगर्ने

पर्वत, माघ ७–यहाँ नगरपालिकाले वडा–वडामै योजना सम्झौता गर्ने भएको छ । कुश्मा नगरपालिकाले नगरबासीलाई नगरपालिका कार्यालयसम्म आउन÷जान सहजकताका लागि साना योजनाको वडा कार्यालयमै सम्झौता गर्ने ब्यवस्था मिलाएको हो ।
‘वडा–वडामै योजना सम्झौता गर्दा नगरका बासिन्दालाई सहज हुनेछ, नगरपालिकाको कार्यालयमा भिडभाड पनि कम हुनेछ’ कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासकुमार लामिछानेले भने–‘साना बजेटका योजना वडामै सम्झौता गर्ने ब्यवस्था मिलाएका छौ ।’ नगरबासीलाई झन्झट हुनबाट रोक्न पनि वडामै सम्झौता गर्दा सहज हुने उनले बताए ।
नगरपालिकाले वडाबाट बाहेक नगरसभाबाट पारित गरेका ठुला बजेटका योजनालाई माघ १५ गतेसम्ममा उपभोक्ता समिति गठन गरी पेश गर्न निर्देशन दिएको छ । तोकिएको मितिमा उपभोक्ता समिति गठन गरी पेश नभएका योजनालाई ठेकेदारमार्फत लगाउने नगरपालिकाको तयारी छ ।
‘बजेटको दुरुपयोग रोक्न समयमै काम गर्नुपर्छ, त्यसका लागि माघ १५ गतेसम्म अनिवार्य रुपमा उपभोक्ता समिति गठन गरी माघ मसान्तसम्ममा सम्झौता गरीसक्नुपर्छ’ लामिछानेले भने–‘तोकिएको मितिमा उपभोक्ता समिति गठन गर्न नसक्ने योजनालाई नगरपालिकाले टेण्डर निकालेर काम अगाडी बढाउछ ।’
नगरसभा हुन ढिलाई हुँदा कुश्मा नगरपालिकाले चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम समयमा ल्याउन सकेको थिएन । पुस १० गतेमात्रै नगरसभा सम्पन्न गरी बजेट नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले ठुला योजना नगरपालिकामातहत र साना योजनाका लागि एकमुष्ठ वडामा नै बजेट बिनियोजन गरेको छ ।
कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले आर्थिक बर्षको अन्तमा सम्झौता गर्ने र हतार–हतारमा हुने काम स्तरीय नहुने भन्दै बर्षा नलाग्दै सबै काम सम्पन्न हुनेगरी नगरपालिका लागेको बताए । ‘नगरबासीलाई सहज र गुणस्तरीय कामका लागि नगरपालिकाको प्रयास हो’ उनले भने–‘लगानी बग्ने अवस्था नरहोस् भन्ने नै हाम्रो ध्येय हो ।’

माघ मसान्तपछि सम्झौता नगर्ने
यसैबिच मोदी गाउँपालिकाले माघ मसान्तपछि योजनाको सम्झौता नगर्ने भएको छ । माघ मसान्तपछि सम्झौता गरिएका योजनाको काम समयमा र गुणस्तरीय नहुने निष्कर्ष निकाल्दै गाउँपालिकाले माघ मसान्तभित्र नै योजना सम्झौता गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले माघ मसान्तभित्र सम्झौता हुनुपर्ने र जेठ महिनामा काम सम्पन्न गरी भुक्तानी लिइसक्नुपर्ने बताए । ‘माघ मसान्तपछि योजना सम्झौता पनि हुँदैन, असारमा गरेको कामको भुक्तानी पनि हुँदैन’ पौडेलले भने । उनले माघ मसान्तमा सम्झौता नगरेका योजनाको बजेट गाउँपालिकाले निर्णय गरेर अन्यत्र खर्च गर्ने बताए ।

spot_img

भर्खरै