पर्वत, माघ ७–मोदी गाउँपालिकाले न्युनतम १० प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा खर्च गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले पुजीगततर्फको बजेटमध्ये १० प्रतिशत बालबालिकाको क्षमता विकास, नेतृत्व विकास तथा बालमैत्री गाउँपालिका बनाउन खर्च गर्ने भएको हो । गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले मानविय विकास नै प्रमुख भएको भन्दै बालबालिकाको क्षेत्रमा गरिएको खर्चले समाजसुधारका साथै माविय विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।
‘अब हरेक बर्ष हामीले कुल पुजीगत बजेटको १० प्रतिशत रकम बालबालिकाको क्षेत्रमा खर्च गर्छौ’ पौडेलले भने–‘बरु बढ्न सक्ला तर १० प्रतिशतभन्दा कुनै बर्ष कम गर्दैनौ ।’ गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले बालमैत्री गाउँपालिका बनाउन प्रतिबद्ध भएर लागेको बताए । मोदी गाउँपालिका वडा नम्बर ८ चित्रे नेपालकै छैटौ बालमैत्री वडा घोषणा हुदैछ ।
चित्रेसहित मोदीका सबै वडालाई बालमैत्री बनाउनका लागि गाउँपालिकाले अग्रसर लिएको पौडेलले जानकारी दिए । चित्रे यही माघ १५ गते बालमैत्री वडा घोषणा हुदैछ । विगत लामो समय देखि साविकको चित्रे गाउँ विकास समितिले चित्रेलाई बालमैत्री बनाउने गरी सञ्चालन गरेका विभिन्न अभियानले अन्ततः वडालाई बालमैत्री बनाउने भएको हो । मोदी गाउँकार्यपालिकाको बुधवार सम्पन्न वैठकले बालमैत्री वडा निर्माणका सवै सुचकहरु पूरा भएको भन्दै आगामी माघ १५ गते वडालाई बालमैत्री घोषणा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले दिएको जानकारी अनुसार वडाको सिफारिसमा सवै सुचकहरु पुरा भएसंगै वडालाई गाउँपालिकाले बालमैत्री वडा घोषणा गर्ने निर्णय गरेको हो । पौडेलले जिल्ला मै पहिलो पल्ट बालमैत्री वडा घोषणाको एतिहासिक कदममा सवैको साथ र सहयोगको अपेक्षा गरे ।
राज्यले तय गरेका ३९ वटा सुचकका सवै उप सुचकहरु वडाले पुरा गरेको भन्दै वडालाई ५ लाख नगद पुरस्कार सहित एक विशेष कार्यक्रमको आयोजना गरी आगामी माघ १५ गते औपचारिक रुपमा बाल मैत्री वडा घोषणा गरिने पौडेलको भनाई छ । वडालाई बालमैत्री बनाउन सक्रिय स्थानीय शिक्षक मधुसुदन अधिकारीले गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा वडाले हालसम्म बालबालिका मैत्री अभियान अन्तर्गत सञ्चालन गरेका गतिविधिको बारेमा जानकारी दिएका थिए ।
केहि गैर सरकारी संस्था र सरकारी निकायको सहयोगले सञ्चालन गरेका विभिन्न गतिविधिहरुका कारण वडा बालमैत्री वडा बन्ने अभियानमा अग्रसर बनेको उनले जानकारी दिए । चित्रेका सवै बालबालिका विद्यालयमा जाने गरेका छन । सवै बालबालिकामा खोपको सुनिश्चितता भएको छ । बाल विवाह रोक्न बालबालिका आफै सक्रिय छन । ‘बाल सुरक्षा र बाल अधिकारको बिषय वडामा स्थापित भइसकेको छ’ अधिकारीले भने–‘बालमैत्री शिशुको गाउँपालिकाले जन्म दिएको छ, शिशुलाई हुर्काउने, बढाउने जिम्मा हामी सवैको हो ।’
वडा सचिव गोकूल शर्माले वडालाई बालमैत्री घोषणा गरेसंगै त्यसको दीर्घकालीन ब्यवस्थापनका लागि वडाले पञ्चबर्षिय योजना बनाएको जानकारी दिए । झण्डै ९२ लाखको लागतमा विभिन्न अभियानहरु मार्फत वडाको बालमैत्री भावनालाई संस्थागत गरिने उनले बताए । मोदी गाउँपालिकाको चित्रे जिल्लाकै उत्कृष्ट होमस्टे सञ्चालनमा रहेको पर्यटकीय गाउँ हो ।