spot_img

एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिकता छैन : क्यान

काठमाडौँ, भदौ १६ । नेपालको यु–१९ क्रिकेट टोली मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा परेको छ ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कुबेतलाई पराजित गरेको छ भने अफगानिस्तानसँग हार व्यहोरेको थियो । एक हारका बाबजुद नेपाल अफगानिस्तान र मलेसियासँगै प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपका लागि छनोटमा भएको विभिन्न सञ्चारमाध्यमले बताएका छन् ।

तर, नेपाल क्रिकेट संघ (क्यान) ले भने एसियाली क्रिकेट महासंघ (एसिसी) नै खारेज भएको अवस्थामा केवल औपचारिकताका लागि प्रतियोगिता भएकाले एसिया कप हुने/नहुने अन्योल रहेको जनाएको छ ।

क्यानका कार्यबाहक महासचिव उत्तमकुमार कर्माचार्य भन्छन्–‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अहिलेसम्म नेपाल छनोट भएको भनेर आधिकारिक जानकारी दिएको छैन ।’

कार्यबाहक महासचिव बज्राचार्य मलेसियामा जारी प्रतियोगिताबाट नेपाली युवा खेलाडीले विश्वकप छनोटको तयारीका लागि राम्रो अवसर लिइरहेको बताए ।

‘एसिया कप हुन्छ या हुन्न निश्चित छैन, तर नेपालको लक्ष्य विश्वकपमा छनोट हुने नै हो’–उनले भने ।

नेपाल अघिल्लो वर्ष कुवेतमा भएको प्रतियोगिताबाट यु–१९ विश्वकप ‘प्ले अफ’का छनोट भएको छ भने दोस्रो चरणमा यही अक्टोबरमा मलेसियामा हुने छनोट प्रतियोगितामा खेल्नेछ । रासस

spot_img

भर्खरै