पर्वत/जिल्लाको कुश्मा नगरपालिका–७ कुश्मा बजारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका समाजसेवी पुरनचन्द्र गिरीले कुश्माको नारायण माध्यमिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ सहयोग गरेका छन् । आफूले एस.एल.सी. दिएको, अहिले प्रवास रहनका लागि चाहिने सीप र भाषा विद्यालय तहमा नै सिक्न पाएको तथा विद्यालय जिल्लामा नै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत उदाहरणीय विद्यालयको रूपमा रहेको खुसीमा उनले करिब दुई लाख रुपैयाँको लागतमा ‘स्मार्ट बोर्ड’ सहयोग गरेका हुन् ।
गत फागुनमा भएको विद्यालयको ६६ औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यालयमा उपस्थित भएका गिरीले सोही दिनको कार्यक्रममा सम्बोधन गर्दै आफूले अध्ययन गरेको र आज विदेशमा रहँदा बोल्न चाहिने अङ्ग्रेजी ज्ञान सिकाएको विद्यालयलाई सहयोग गर्न मन लागेको बताएका थिए । विद्यालयमा धेरै कुराहरू पूरा भएका र अझै धेरै कुराहरू आवश्यक रहेको भए पनि आजका विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउनको लागि बोर्ड उपलब्ध गराउने घोषणा गरेका थिए । आफू प्रवासी नेपालीहरूको नेतृत्व गर्ने अन्तर्राष्ट्रिय स्तरका संस्थाहरूमा नेतृत्व गर्ने सीप र बोल्ने भाषा नारायण मा.वि.ले दिएका कारण नै आफूले विद्यालयलाई सदैव सम्झिने गरेको उनको भनाइ थियो । आफूहरू रहेको ठाउँबाट केही न केही सहयोग गर्न सकेमा पनि अहिलेका बालबालिकाहरूले राम्रो वातावरणमा सिक्ने अवसर पाउने भन्दै उनले ‘बोर्ड’ सौजन्य गर्ने घोषणा गरेका थिए ।
सोही घोषणा अनुसार सोमबार ७५ इन्चको आधुनिक स्मार्ट बोर्ड विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद शर्मा र प्रधानाध्यापक प्रकाश रिजाललाई हस्तान्तरण गरिएको छ । सोमबार विद्यालयमा आयोजना भएको ‘स्मार्ट बोर्ड’ हस्तान्तरण कार्यक्रममा उपस्थित भएका सहयोगदाता गिरीका बुबा कलाधर गिरी र समाजसेवी आर.सी पौडेलले उक्त ‘बोर्ड’ विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै समाजसेवी पौडेलले पूर्व विद्यार्थी गिरीले आधुनिक शिक्षाको आवश्यकताको महसुस गर्दै विद्यालयलाई समयअनुसार प्रविधियुक्त बनाउन सहयोग गरेको बताए । सामाजिक सेवामा सक्रिय रहँदै आएका गिरीले आगामी दिनमा पनि विद्यालयसँग थप सहकार्य गर्ने बताएका छन् । जिल्लामा सबैभन्दा धेरै एक हजार एक सय विद्यार्थी अध्ययनरत रहँदा हरेक विद्यार्थीले प्रविधिको अनुभव गर्नका लागि पनि यो विद्यालयमा यस्तै खालका धेरै उपकरणहरूको आवश्यक हुने उनको भनाइ थियो ।
विद्यालयका पूर्व विद्यार्थीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि उपल्लो ओहदामा पुगिसकेको अवस्थामा उनीहरूले आफ्नो मातृ विद्यालयका लागि केही न केही पहल गर्ने हो भने विद्यालयलाई थप आधुनिक बनाउन सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मा बताउँछन् । विद्यालय परिवार र पूर्व विद्यार्थीहरू क्रमिक रूपमा जोडिएर बालबालिका र अभिभावकहरूको सपना पूरा गर्ने साझा र पवित्र उद्देश्यमा जोडिएका कारण विद्यालयमा सहयोग गर्ने जस्तो पवित्र कार्यमा अन्य समाजसेवीहरू पनि जोडिन उनले आह्वान गरे ।
विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालका अनुसार सोमबार विद्यालयमा आइपुगेको ‘बोर्ड’ लाई सोमबार नै ‘इन्स्टल’ गरेर औपचारिक रूपमा शिक्षण सिकाई सुरु गरिएको छ । विद्यालयमा आएको पहिलो ‘स्मार्ट बोर्ड’बाट विद्यार्थीहरू उत्साहित भएको बताउँदै उनले विद्यालयलाई सकेसम्म प्रविधिमैत्री बनाउने योजनाका साथ आफूहरूले विभिन्न योजनाहरू लागू गरिरहेको उनको भनाइ छ । एक व्यक्तिको महत्त्वपूर्ण सहयोगले विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै प्रधानाध्यापक रिजालले सहयोगदाताप्रति आभार व्यक्त गरे । ‘स्मार्ट बोर्ड’ को प्रयोगबाट विद्यार्थीहरूले आधुनिक तथा व्यवहारिक शिक्षामा थप पहुँच पाउने अपेक्षा गरिएको छ ।


