पर्वत/पैयूँ गाउँपालिकाको आयोजनामा “सहकारी संस्था विघटन तथा दर्ता खारेजी” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी राना ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, सहकारी रजिस्ट्रार कार्यालय पोखराका प्रशासकीय अधिकृत अमृत कडेल, गाउँपालिकाका वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, सामाजिक व्यक्तित्व तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहकारी रजिस्ट्रार कार्यालय, पोखराका प्रशासकीय अधिकृत अमृत कडेलले सहकारीको सैद्धान्तिक परिचय, वर्तमान अवस्था तथा सहकारी संघ–संस्था खारेजीसँग सम्बन्धित विद्यमान कानूनी प्रावधानबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले संस्था विघटनका प्रक्रियागत चरण, आवश्यक कागजात, खारेजी प्रक्रियामा देखिन सक्ने व्यावहारिक जटिलता तथा यस प्रक्रियामा पदाधिकारी र स्थानीय जनप्रतिनिधिहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे स्पष्ट पार्नुभएको थियो।
त्यसैगरी, गाउँपालिकाका सहकारी शाखा प्रमुख युवराज सुवेदी ले गाउँपालिका भित्र सञ्चालित सहकारी संस्थाहरूको वर्तमान अवस्था, सक्रिय तथा निष्क्रिय सहकारीहरूको वर्गीकरण, साथै सहकारीको प्रभावकारिता मूल्याङ्कनका लागि अपनाइने “स्व–मूल्याङ्कन” विधि र प्रक्रियाबारे जानकारी दिनुभएको थियो।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान तथा नियमन कार्यलाई थप व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय तहमा सहकारी सुशासन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ।


