पर्वत/कालीगण्डकी नदीमाथि कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने मोटरेबल पुल निर्माण हुने भएको छ । प्रदेश सरकार अन्र्तगत गण्डकी पूर्वाधार विकास निर्देशनालय पोखराले पर्वतको कुश्मा २ नयाँपुल र बागलुङ १३ कालाखोला जोड्नेगरी मोटरेबल पुल निर्माण सुरु गरेको हो । निर्देशनालयले ठेक्कामार्फत मुक्तिनाथ अमित जेभीलाई निर्माणको जिम्मा दिएको हो ।
१६ करोड ९५ लाख २५ हजार पाँच रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलको अहिले धमाधम पुल निर्माणस्थलको माटो परिक्षण भइरहेको मुक्तिनाथ अमित जेभीका ब्यवस्थापक सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पुस १७ गतेभित्र रिपोर्ट आइसक्ने र त्यसपछाडी मात्रै पुल निर्माण औपचारिक रुपमा सुरु हुनेछ । निर्देशनालयले निर्माण कम्पनीसंग ०८२ असार १७ गते सम्झौता गरेको थियो । सम्झौता मितिदेखि तीन बर्षभित्र पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्नेछ । एक सय मिटर लामो हुने पुल ११ मिटरको चौडाई रहने भएको छ ।
पुल दुईतफी डेढ मिटर छाडेर साढे सात मिटरमा गाडी आवतजावत गर्न मिल्ने भट्टराईले जानकारी दिनुभयो । यो पुल निर्माण भएपछि विशेषगरी बागलुङको बलेवा क्षेत्रका बासिन्दाका लागि कुश्मा, पोखरा जान दुरी छोटिनेछ । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले केही दिनअघि पुल निर्माणस्थलको अवलोकन गरी समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । ‘बागलुङको दक्षिण भेगलाई पर्वतको कुश्मासंग जोड्ने दुरी यो पुलले छोटो बनाउनेछ’ जोशीले भन्नुभयो–‘निर्माण कम्पनीले समयमै निर्माण सम्पन्न गरोस् भन्ने हाम्रो आग्रह छ ।’
विशेषगरी बागलुङको दक्षिणीक्षेत्रका बासिन्दा बागलुङ सदरमुकाम जान पनि यो पुलले निकै सहज बनाउनेछ । मालढुङा–बलेवा जोड्ने सडक सानो पानी परेपनि ठुलो पहिरोको जोखिममा रहेकोले पनि यो पुल निर्माणपछि बलेवाका साथै जैमिनी, बरेङलगायतका बासिन्दालाई निकै राहत मिल्ने बागलुङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुबेदीले बताउनुभयो ।
कालीगण्डकी नदी माथी अर्को मोटरेबल पुल बन्दै


