spot_img

कुश्मामा पर्यटक खचाखच, मुक्तिनाथ पुग्नेहरु अधिकांशले बञ्जी र जीपलाइन गर्छन अवलोकन

पर्वत– साहसीक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । चाडपर्व सकिएपछि बिदामा घुम्ने प्रचलन बढेसँगै कुश्मा आउने पर्यटक बढेका हुन् । कुश्मा विभिन्न संघ संस्थाको अवलोकन भ्रमणको गन्तव्य बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुंगे पुलले आन्तरिक पर्यटकहरूलाई आकर्षित गरेको हो ।

बडादसैं र तिहार सकिएसँगै पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । दसैं तिहार जस्ता चाडबाडका कारण पर्यटकहरू बढी भित्रिएका हुन् । सरकारी वा सार्वजनिक बिदालाई पछिल्लो समय नेपालीहरूले घुमघाम र मनोरञ्जन लिएर बिताउन थालेका छन् । हिउँदयाम सुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौको संख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् ।

विगतका वर्षहरूमा आन्तरिक पर्यटक मात्र आउने कुश्माका पर्यटकीय स्थलमा पछिल्लो समय बाह्य पर्यटकहरूको संख्या समेत आउन थालेका होटल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए । पर्यटकको संख्या बढेसँगै कुश्मा बजारका होटलहरू भरिभराउ हुन थालेका हुन् । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधा सम्पन्न होटल थपिन थालेका छन् ।

हिमालपारीको जिल्ला मुस्ताङ तथा उपल्लो मुस्ताङ र कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । उनका अनुसार शुक्रवारदेखि कुश्माका होटलको अक्कुपेन्सी ९० प्रतिशतभन्दा माथि पुगेको थियो । म्याग्दी र मस्ताङमा होटल नपाएकाहरू पर्वत सदरमुकाम बास बसेर गन्तब्यतर्फ लागेका छन् ।

मुस्ताङ जाने पर्यटकहरूले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालक समेत रहेका श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौंडा, दोलखा, नेपालगन्ज, बर्दिया, दाङ, बुटवल, कपिलबस्तु लगायतका क्षेत्रवाट शैक्षिक संघ संस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघ संस्थाहरूको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढ्दो रहेको उनले बताए ।

कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ जाने गरेको होटल व्यवसायीको भनाइ छ । दसैं लगत्तै सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जु, माउन्टेन भ्यू, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, रोयल कुश्मा, ड्रागन लगायतका होटल भरिभराउ रहेको सञ्चालकहरूले बताएका छन् । यता बन्जिजम्प र जीपलाइनमा समेत एक हप्ताअघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकहरूले बताएका छन् ।

अन्य दिन भन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको दिनमा पर्यटकको चाप बढी हुने गरेको भए पनि यतिबेला लामो सरकारी बिदा भएकाले नियमित भिडभाड हुने गरेको द एडभाञ्चर रिसोर्टका सञ्चालक सुनिलसिंह बाँनियाले जानकारी दिए । यस वर्षदेखि बाह्य पर्यटकहरू समेत उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए । दैनिक एक सयभन्दा बढीले बञ्जी तथा स्वीङ गर्ने गरेको र त्यसकै हाराहारीमा पिङ, रक क्लाइम्विङ, साइक्लिङ, मेगाट्रोल लगायतका खेल खेल्ने गरेको कार्कीको भनाइ छ ।

spot_img

भर्खरै