spot_img

राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगर प्रमुखद्धारा उद्घाटन, नयाँ प्रतिभा पहिचानको ऐतिहासिक अवसर भएको दाबी

पर्वत/कुश्मा नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहिबारदेखि बडागाउँचौरमा सुरु भएको छ । पालिकाका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी कुश्मा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन सभारोहलाई सम्बोधन गर्दै जोशीले नयाँ प्रतिभा पहिचानको यो ऐतिहासिक अवसर भएको बताउनुभयो । खेलका माध्यमबाट गाउँ, समाज, जिल्ला मात्र नभएर राष्ट्र नै परिचित हुने भएकोले तल्लो तहबाटै यस्ता प्रकारका प्रतियोगिता नियमित हुनुपर्नेमा जोड दिनुभयो । सभ्य र मर्यादित रुपमा प्रतियोगितामा सहभागी बन्न आग्रह गर्दै नगर प्रमुख जोशीले खेलप्रति आकर्षित गर्न नगरपालिकाले भुमिका खेल्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसी, प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, वडा अध्यक्षहरु रामहरि शर्मा, इश्वर गिरी, रुद्रमोहन रिमाल, शिक्षा अधिकृत दिपक सुबेदीलगायतले बोल्नुभएको थियो । चालु शैक्षिक सत्र २०८१ मा विद्यालयमा अध्ययनरत १८ वर्षसम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याइभलिन थ्रो, कराँते र तेक्वान्दो विद्याभित्रका विभिन्न समूहमा प्रतिस्पर्धा हुनेछ  ।
विभिन्न २७ प्रकारका खेलहरूमा छात्र र छात्रातर्फ गरेर कुल ५४ स्वर्ण, ५४ रजत र ५४ कांस्य पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नुपर्ने छ । जुन विद्यालयले सबैभन्दा बढी स्वर्ण पदक जित्ने छ सोही विद्यालय विजेता बन्ने छ । प्रतियोगितामा सहभागिता जनाउन नगरपालिकाका २५ वटा विद्यालयहरूले नाम दर्ता गराएका छन् ।
चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत साथै विद्यालयको इमिश रेकर्डअनुसार १८ वर्षभन्दा मुनिका छात्र÷छात्राहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन् । कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा भइसकेको छ ।
लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्न सफल हुने विद्यालयले सधैँका लागि ‘शिल्ड’ समेत राख्न दिने कुश्माको निर्णय छ । पहिलो र दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेकाले यस वर्षको तेस्रो संस्करण समेत जित्नै पर्ने दबाबमा नारायण मावि छ ।
प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको उक्त विद्यालयले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक जितेको थियो ।

spot_img

भर्खरै