spot_img

लामो पर्खाइपछि बन्यो पुर्तिघाटमा पक्की पुल, सांसद चन्द्र भण्डारीले गरे उद्घाटन

पर्वत/पर्वत र गुल्मी जोड्ने कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण सम्पन्न भएको छ । पर्वतको विहादी गाउँपालिका–३ रानीपानीको इमिचौरदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाट जोड्ने उक्त पुल निर्माण गरी सवारी साधन औपचारिक रुपमा चलाउन सुरु गरिएको हो । पुलको मंगलबार (आज) नेपाली काँग्रेसका नेता एवम् संघीय सांसद डा.चन्द्र भण्डारीले उद्घाटन गर्नुभयो ।
तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ भदौ ३१ मा १४ करोड ६७ लाखमा पुल निर्माणको सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ चैतसम्म कार्यसम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । विविध कारणले आठ वर्षपछि मात्र पुल निर्माण गरी एलिट कन्ट्रक्सन प्रा.लि. काठमाडौले हस्तान्तरण गरेको हो । कोरोना सङ्क्रमण, निर्माण सामग्री अभाव तथा सरकारबाट रकम भुक्तानीमा भएको ढिलाइ लगायतका कारणले पुल निर्माण समयमै सम्पन्न हुन नसकेको दाबी कम्पनीको रहेको छ ।
तम्घास सिमलटारी प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौँबीच सम्झौता भए पनि बीचमा उक्त कार्यालय नै खारेज भएपछि २०७९ मा सडक डिभिजन कार्यालय पाल्पामार्फत् कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएको पुल हालै सम्पन्न भएको सडक कार्यालय पाल्पाका इन्जिनियर दुर्गा गौतमले बताउनुभयो । पुल निर्माण भएपछि गण्डकी प्रदेशको पर्वत र लुम्बिनी प्रदेशको गुल्मीका नागरिकको यात्रा सहज बनेको छ । पुल निर्माणसँगै उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर र पर्वत खण्डतर्फको कालीगण्डकी लोकमार्ग एकआपसमा जोडिएका छन् ।
पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद चन्द्र भण्डारीले पुलले गुल्मीका धेरै पालिकाले लाभ लिनुका साथै कालीगण्डकी लोकमार्ग र कालीगण्डकी करिडोर एकआपसमा जोडिएकोमा खुशी जनाउनुभयो । ‘यो पुल निर्माणका लागि मैले १५ बर्षदेखि लागेको थिए तर आज सम्पन्न भएर उद्घाटन गर्न पाउँदा निकै खुशी लागेको छ’ भण्डारीले भन्नुभयो । अव प्रविधिको प्रयोगले छिटो विकासमा लाग्नुपर्ने भन्दै भण्डारीले गफ मात्रै गर्नेको पछि नभई काम गर्नेको पछि लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले कालीगण्डकी लोकमार्ग र करिडोरको उपयोग गरी लाभ उठाउनुपर्ने बताउनुभयो । उहाँले पर्वत, स्याङ्जा र गुल्मी जोड्ने तीनमुखे पुल निर्माण गर्न, लिफ्टीङ गरी सिंचाई सुविधा र पुलदेखि लोकमार्गसम्मको सडक कालोपत्रेको ब्यवस्था मिलाइदिन सांसद भण्डारीसमक्ष माग गर्नुभएको थियो । पुलले बिहादी र कालीगण्डकी गाउँपालिका मात्रै नजोडिइ यो पुलले दुई प्रदेशसमेत जोडिएकोले थप महत्वको पुल भएको दाबी गर्नुभयो । विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने र सबै एकताबद्ध भएर लागेमा मात्रै विकास र समृद्धि प्राप्त हुने बताउनुभयो ।
कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेदबहादुर थापाले पुल बनेपछि खुशी ब्यक्त गर्दै पुलको उपयोगलाई उत्पादन र समृद्धिसंग जोड्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले पनि पुल बनेपछि पोखरा, काठमाडौ जान सहज हुनुका साथै यहाँ उत्पादन भएका बस्तु बजार पु¥याउन सहज बन्ने बताउनुभयो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश गिरीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा बिहादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसाललगायत विभिन्न राजनीतिक दलका नेताहरु, दुबै जिल्लाका जनप्रतिनिधिहरु, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

spot_img

भर्खरै