spot_img

बिहादीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि नेपाल तारालाई, अध्यक्ष गुरुङद्धारा बितरण

पर्वत/बिहादी गाउँपालिकामा चारदिनसम्म सञ्चालित राष्ट्रपति रनिङशिल्डको उपाधि बिहादी–३ स्थित नेपाल ताराले प्राप्त गरेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, चार रजत र चार कास्य गरी १६ पदकसहित नेपाल ताराले शिल्ड प्राप्त गरेको हो । योसहित नेपाल ताराले लगातार तेस्रो पटक उपाधि जितेसंगै रनिङशिल्ड प्राप्त गरेको हो ।
प्रतियोगितामा आम्बारी मावि दोस्रो स्थान प्राप्त गरेको छ । सात स्वर्ण, तीन रजत र छ कास्य गरी १६ पदकसहित आम्बारी मावि दोस्रो भएको हो । सात स्वर्ण, तीन रजत र पाँच कास्य गरी १५ पदकसहित जनकल्याण मावि बाच्छाले तेस्रो स्थान प्राप्त गरेको छ । आइतबार रातीसम्म चलेको प्रतियोगिताका बिजेता खेलाडी तथा बिद्यालयलाई गाउँपालिकाका अध्यक्ष परवित गुरुङ, उपाध्यक्ष मिना शर्मा तिवारी, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसाललगायतले पुरस्कार बितरण गर्नुभएको थियो । प्रतियोगिताको समापनमा विजयीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्दै बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले बिहादी गाउँपालिकामा धेरै बिद्यार्थीको प्रतिभा पहिचान भएको बताउनुभयो । खेल क्षेत्रको विकास र विस्तारका लागि बिहादी गाउँपालिकाले आगामी दिनमा समेत यस्ता प्रकारका प्रतियोगितालाई निरन्तरता दिने बताउदै गुरुङले बिजयी सबै बिद्यार्थी र बिद्यालयलाई बधाई दिनुभएको थियो । उहाँले खेलक्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको समेत गुरुङले जानकारी दिनुभएको थियो ।
खेलकुदले ब्यक्ति, गाउँ र देशलाई चिनाउने भन्दै अध्यक्ष गुरुङले उत्कृष्ट खेलाडीलाई खेलकुदमा लाग्न गाउँपालिकाले प्रोत्साहन गर्ने बताउनुभएको थियो । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारी, प्रमुख प्रशासकिय अधिकृत हरि भुसाल, विभिन्न वडाका अध्यक्षहरु तथा पूर्व गाउँपालिका अध्यक्ष कमल भुषाल, विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधिहरु समापन कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

spot_img

भर्खरै