पर्वत/ निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैलाको समयमै उचित ब्यवस्थापन गर्नुपर्ने यहाँ आयोजित सरोकारवालाहरुले बताएका छन् । अधिकांश अस्पतालहरुबाट निस्कने फोहरलाई सम्बन्धित अस्पतालले ब्यवस्थापन गर्दै आएको भएपनि निजि स्वास्थ्य संस्थाबाट निस्किएका फोहोरमैला सही रुपमा ब्यवस्थापन हुन नसकेको उनीहरुको गुनासो रहेको छ ।
अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित मोमेन्टम परियोजनाअन्र्तगत स्थानीय तहसंग समन्वय र सहकार्यको लागि आयोजित त्रैमासिक बैठकमा बोल्दै सहभागीले कुश्माबजारमा रहेका निजि अस्पताल र फार्मेसीहरुबाट निस्किएका फोहोरमैलाको सही ब्यवस्थापन हुन नसकेको दाबी गरेका हुन । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोर ब्यवस्थापनका लागि सहकार्य गर्ने बताउनुभयो । उहाँले निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको बिषयमा ध्यान दिन नसकिएको स्वीकार गर्दै स्वास्थ्य संस्थाबाट निस्कने फोहोर जथाभावी फाल्न नहुने भएकोले पर्वत अस्पतालसंग सहकार्य गरेर ब्यवस्थापन गर्न लाग्ने जानकारी दिनुभयो । उहाँले निजि स्वास्थ्य संस्थाबाट निस्किएका फोहोरलाई बजारको फोहोरसंग मिसाएर फाल्ने गरेको भए आगामी दिनमा रोकेर त्यसलाई सही ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले पनि निजि स्वास्थ्य संस्थाको फोहोर ब्यवस्थापना चासो राख्दै आगामी दिनमा ध्यान दिने धारणा राख्नुभयो । उता कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले भने निजि स्वास्थ्य संस्थाबाट निस्किएको फोहोरमैलालाई पर्वत अस्पतालको फोहोरमैलासंगै ब्यवस्थापन गर्न पर्वत अस्पतालसंग सहमति भइसकेको जानकारी दिनुभएको थियो । सहभागीले स्वास्थ्य संस्थाबाट निस्कने फोहोर जथाभावी फाल्दा त्यसले समाजमा थप रोग फैलनसक्ने जोखिम भएका कारण नष्ट गर्नेगरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका थिए ।
मोमेन्टम परियोजनाका कार्यक्रम अधिकृत सचिन पोखरेलले निजि स्वास्थ्य संस्थाबाट नेपालमा सबैभन्दाबढी परिवार योजनाको सेवा लिइरहेको र त्यसको तथ्यांक नहुने भएकाले यो परियोजना महत्वपूर्ण भएको जानकारी दिनुभयो । उहाँले विगत तीन बर्षदेखि कुश्माबजारभित्रका निजि क्षेत्रका स्वास्थ्य संस्थाहरु र फार्मेसीहरुको प्राविधिक र ब्यवस्थापकीय क्षमता अभिबृद्धि गर्नका लागि यो परियोजना सञ्चालन भएको पनि बताउनुभयो । निजी स्वास्थ्य संस्थामार्फत किशोर किशोरी तथा युवा युवतीहरुलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्दै निजि क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जनका साथ विस्त ागर्ने लक्ष्यका साथ सुरु भएको परियोजनाले गुणस्तरीय परिवार योजना सेवा, उपभोग गर्नमा आउने बाधा हटाउन सघाउने उद्देश्य समेत लिएको छ ।
परियोजनाअन्तर्गत किशोर किशोरी र युवा उमेर समुहको लागि समुदायस्तरको प्रजनन स्वास्थ्य कायक्रम, मासिक÷त्रैमासिक रुपमा गुणस्तर सुधार, अनुगमन र सहयोग, स्थलगत अनुशिक्षण, प्रदेश पालिका र अन्य संघसंस्थासंग नियमित रुपमा समन्वय र सहकार्य गर्दै आएको पनि कार्यक्रम अधिकृत पोखरेलले जानकारी दिनुभएको थियो । कुश्मा नगरपालिकाको बजारक्षेत्रका दुई वटा निजि अस्पताल र सात वटा फार्मेसीमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष बाबुराम पौडेलले पनि बोल्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले सञ्चालन गर्नुभएको बैठकमा विभिन्न वडाका वडा अध्यक्षहरुसहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।