पर्वत, कुश्मा नगरपालिका वडा नम्वर २ खुर्कोटमा सडक बत्ती जडान गरिएको छ । आवश्यक पर्ने चोकचोकमा वडा कार्यालयले २५ वटा सेन्सरसहितका सडक बत्ती जडान गरेको हो । वडा अध्यक्ष लालकृष्ण बाँस्तोलाले २५ वटा बत्ती जडान गरिएको र आवश्यक पर्ने थप ठाउँमा पनि जडान गर्दै जाने जानकारी दिनुभयो ।
‘लामो समयदेखि खुर्कोटमा चोरीका घटना, टौवामा आगो लगाउने घटना भइरहेका छन्, यी बत्तीले त्यस्ता प्रकारका घटना रोक्नसमेत मद्दत पुग्ने अपेक्षा गरेका छौ’ वडा अध्यक्ष बाँस्तोलाले भन्नुभयो । उहाँका अनुसार वडा कार्यालयको पहलमा कुश्मा नगरपालिकाको समन्वयमा ती बत्ती जडान गरिएको हो ।
यसैगरी वडा नम्बर २ मा तीन सय ५० बढी बिद्युतीय चुलो बितरण गरिएको छ । संस्थाको ५० प्रतिशत र वडाको १० प्रतिशत गरी ६० प्रतिशत अनुदानमा ती बिद्युतीय चुलो बितरण गरिएको पनि वडा अध्यक्ष बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार चुलो थप एक सय बढी बितरण गर्न बाँकी रहेको छ ।