पर्वत–पैयूँ गाउँपालिकाले नयाँ आर्थिक बर्ष २०८१/०८२ सालदेखि वडाबाटै कर संकलन गर्ने भएको छ । पालिकाबासीले कर बुझाउनका लागि गाउँपालिकाको कार्यालयमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै वडा कार्यालयबाटै कर तिर्ने सुविधा मिलाएको हो । गाउँपालिकाले सुचना जारी गर्दै पालिकाभित्रका सात वटै वडा कार्यालयबाटै सम्पत्ति तथा भूमिकर (घरजग्गाको कर) तिर्ने ब्यवस्था मिलाएको प्रमुख प्रशासकिय अधिकृत राजिव रिमालले जानकारी दिए । ‘आगामी आर्थिक बर्ष ०८१/०८२ का लागि सम्पत्ति तथा भुमिकर वडा कार्यालयहरुबाट संकलन गर्ने ब्यवस्था मिलाइएको हुँदा साउन १ गतेदेखि सम्बन्धित वडा कार्यालयहरुमा गई कर बुझाउन सुचना निकालिएको छ’ रिमालले भने । पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले नागरिकले कर तिर्न पनि सास्ती पाउने अवस्था हटाउदै हरेक वडामा सम्पत्ति र भुमिकर तिर्नेसक्ने ब्यवस्था मिलाइएको जानकारी दिए । आर्थिक बर्ष ०८०/०८१ सम्म सम्पत्ति र भुमिकर तिर्नका लागि गाउँपालिकाको कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको थियो ।