पर्वत–दमुवाखोलामा आएको बाढीले सडक कालोपत्रे गर्ने अस्पाल बगाएको छ । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाबिचमा रहेको दमुवाखोलाले अस्पाल उद्योग बगाएको हो । कालीञ्जर मल्ल कन्ट्रक्सनले सञ्चालन गरिरहेको उक्त उद्योग गएरातीको भिषण बाढीले बगाएको हो । हिजोदेखि परेको लगातारको बर्षाका कारण दमुवाखोलामा भिषण बाढी आएको छ । उद्योग बगाउँदा झण्डै दुई करोड क्षति भएको सञ्चालक यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । उद्योगमा रहेको दुई सय १७ ड्रम अलकत्रो, सात हजार लिटर डिजल र मट्टितेल पनि बाढीले बगाएको छ । अन्य थुप्रै सामान बगाएको पनि मल्लले बताए । मल्लले झण्डै तीन बर्षअघि पाँच करोड लगानीमा सडक कालोपत्रे गर्ने अस्पाल सञ्चालनमा ल्याएका थिए । दमुवा खोलाले दुवैतर्फ कटान तिव्र रुपमा गरिरहेको छ । लगातार कटान गर्दा आसपासको जमिन बगिरहेको छ । मध्यरातमा थाहा पाएर डोजर परिचालन गरेर नदी तर्काउने प्रयासले केही सुरक्षित भएपनि नजिकै रहेको धौलागिरी क्रसर उद्योग र आसपासका बस्तीसमेत उच्च जोखिममा परेका छन् । दमुवाखोलाको मुहानक्षेत्रमा पर्ने नाग्लीवाङ र बनौ क्षेत्रमा पर्ने पहाडमा गतबर्ष नै पहिरो गएको थियो । ठुलो बर्षा हुँदा उक्त ठाउँमा पहिरो बग्नेक्रमले खोलाको भेलमा पहिरो मिसिदा खोलामा ठुलो बाढी आउने गरेको छ । जनप्रतिनिधिहरुलाई खोलाको तटबन्द निर्माण गरी संरक्षण गर्न आग्रह गरेपनि नसुन्दा यो अवस्था आएको मल्लले जानकारी दिए ।