सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।
यो सँगै बंगलादेश ट्वान्टी–२० क्रिकेट विश्वकपमा सबैभन्दा सानो योगफल रक्षा गर्ने टिम बनेको छ ।
नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा २२ रनको आवश्यकता थियो । बंगलादेशबाट १९औँ ओभर बलिङका लागि आएका मुस्ताफिजुर रहमानले स्ट्राइकमा रहेका दीपेन्द्रसिंह ऐरीलाई लगातार पाँच बल डट फ्याक्दै अन्तिम बलमा आउट गरी उत्कृष्ट विकेट मेडन बलिङ गरेका थिए । २०औँ ओभरमा जितका लागि २२ रननै आवश्यक हुँदा नेपालले आठ विकेट गुमाइसकेको थियो । २०औँ ओभर बलिङमा आएका साकिब अल हसनले दुई बलमा दुई विकेट लिएपछि नेपाल २१ रनले पराजित भएको हो ।
नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । कुशलले २६–५ को कठिन अवस्थाबाट दीपेन्द्रसिंह ऐरीसँग ५२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, १६.४ ओभरमा मल्ल आउट भएपछि नेपालले पुनः लगातार विकेट गुमाएको हो ।
दीपेन्द्रले २५ रन थपे । ओपनर आसिफ सेखले १७ रन जोडे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपालका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।
बंगलादेशका साकिब अल हसने सर्वाधिक १७ रन बनाए । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लूको धरापमा पर्नुअघि साकिबले २२ बलमा दुई चौका प्रहार गरे । महमदुल्लाह र रिसाद हुसैनले समान १३ रन थप्दा लिटोन दास र तक्षिन अहमेदले १२ र १० रन जोडे । यसबाहेक बंगलादेशका अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेको थिएन ।
नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानले समान दुई विकेट लिए । रोहित र सन्दीपले पहिलो पटक ट्वान्टी–२० विश्वकपमा विकेट लिएका हुन् ।
बंगलादेशका जाकेर अली र तान्जिम हसन साकिबलाई बोल्ड गरेका सन्दीप यो खेलसँगै नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो बलरसमेत बने । सन्दीपले ५४औँ खेलमा यो कोशेढुंगा पार गरेका हुन् ।
सन्दीप अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा दोस्रो सबैभन्दा छिटो १०० विकेट लिने बलरसमेत बने । उनी अगाडि अफगानिस्तानका राशिद खानल ५३ खेलमा १०० विकेट लिएका थिए ।
यो खेलसँगै नेपाल ट्वान्टी–२० विश्वकपमा जितविहीन बन्यो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ ।
जितसँगै सुपर–८ मा स्थान निश्चित गरेको बंगलादेशले चार खेलबाट ६ अंक जोड्यो । बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै सुपर–८ प्रवेश गरेको हो ।